सोमबार, वैशाख ८, २०८२

देउवालाई शेखर कोइरालाका प्रश्नै-प्रश्न, यस्ता छन् १२ सुझाव !

नेपालखोज २०७८ साउन ३० गते ८:३०

१. सरकारलाई बधाई ! शुभकामना-सफलताको कामना ।
२. प्रधानमन्त्रीजीले १०० प्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीको काममा खर्च भएको छ । यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ ?
३. दुई महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन् । यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ ?
४. संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दै छ । गठबन्धनको सरकार छ । अहिले सरकारका सामु धेरै चुनौती छन् ।
५. यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस पार्टीको प्रतिकूल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ । त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ।
६. आज दु:ख लागेको छ। सानेपाको कार्यालय छाडेर केन्द्रीय समिति बैठक यहाँ गर्दै छौं । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन् । उनीहरुको माग हामीले सुन्नैपर्छ । १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नुभएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो । मेरो विनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।
७. अधिवेशन : संविधान र कानुन हामीले नै बनाएका हौं । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो । त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बिर्सन मिल्दैन । कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो । पदाधिकारी र पूर्वपदाधिकारीले महाधिवेशनको टुंगो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा इच्छाशक्ति देखिएन ।
८. क्रियाशील सदस्यता : तल्लो तहबाट, विधान र प्रक्रियागत ढंगले आएका छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएकाबाहेक केन्द्रबाट विधिविपरीत थपिएका क्रियाशील सदस्यता र पार्टी समायोजन नाममा प्रक्रिया नपुर्‍याइ वितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो ।
९. नेतृत्व र क्रियाशील छानबिन समितिले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकाले यसमा अल्झिन आवश्यक छैन । जुन-जुन स्थानमा समस्या छ त्यहाँ १३औं महाअधिवेशनका क्रियाशीललाई आधार मानेर अधिवेशनमा जाऔँ ।
१०. निर्देशिका : गत निर्वाचनमा विद्रोही उम्मेद्‌वार, प्रस्तावक र समर्थकको नाम क्रियाशील नवीकरणमा समावेश भएको हुन सक्छ त्यसलाई हटाउने व्यवस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकज्यूले राखिसक्नुभएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उम्मेद्‌वारको नवीकरण छुटेको छ । नवीकरण छुटेकाको हकमा १३औं महाधिवेशनको कार्ड लिएर आए महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्छ ।
११. अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ-दुई वर्ष समय थप्ने कुरा सुनिँदै छ । कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन । पटक-पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो, योपटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुंग्याएर डेढ/दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ ।
१२. नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन । यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशन हो । यसमा देशवासीको चासो र चिन्ता त छ नै, अन्तर्राष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४औं महाधिवेशनको संघारमा हामीले एकताबद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ ।
(नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा साउन २९ गते केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राखेको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया