बुधबार, वैशाख १०, २०८२

नेप्से २४ दशमलव ८८ अंकले गिरावट, कारोबार रकम २१ अर्ब ६४ करोड नाघ्यो

नेपालखोज २०७८ साउन ३१ गते १५:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे । मौद्रिक नीतिमा सेयर धितो कर्जामा चार करोड देखि १२ करोड रुपैयाँसम्ममा सीमा तोकियो भने क्रस होल्डिङ सेयर भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरमा गईसक्नुपर्ने सीमा तोकियो । यसका अतिरिक्त सेयर बजारमा प्रभाव पार्ने सक्ने अन्य नीतिहरु पनि मौद्रिक नीतिमा सार्वजनिक गरियो । तर यसको प्रत्यक्ष असर मौद्रिक नीति घोषणापछिको सेयर कारोबार अर्थात् आज (आइतबार) को सेयर कारोबारमा देखिएको छ ।

नेप्से आज उच्च अंकले घटे पनि कारोबार रकम २१ अर्ब नाघेको छ । नेप्से आज २४ दशमलव ८८ अंकले घटेर तीन हजार एक सय ५४ दशमलव तीन अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव नौ अंकले घटेर पाँच सय ८९ दशमलव २८ अंकमा पुगेको छ । सोही आधारमा आज दुई सय २२ कम्पनीको एक लाख ८९ हजार सात सय ३६ पटकको कारोबारमा तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर बाँकी १० वटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव १५ अंकले घटेर दुई हजार एक सय १७ दशमलव ९४ अंकमा निर्जीवन बिमा समूहको सूचक पनि दुई सय २४ दशमलव ६२ अंकले घटेर १४ हजार चार सय ३८ दशमलव २७ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सूचक पनि एक सय ९१ दशमलव दुई अंकले घटेर १८ हजार १९ दशमलव पाँच अंकमा झरेकामा विकास बैंक, जलविद्युत्, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् ।

लघुवित्त समूहको सूचक भने आज एक सय १५ दशमलव १२ अंकले बढेर पाँच हजार आठ सय ८६ दशमलव ४६ अंकमा चढेकामा उत्पादनमूलक र लगानी समूहको सूचक पनि बढेका छन् ।

आज खानीखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय १८ रुपैयाँमा कारोबार हुँदा एनआईबीएल प्रगति फन्डको प्रतियुनिट सेयर मूल्य आठ दशमलव ५४ प्रतिशतले घटेर १२ रुपैयाँ ८५ पैसामा कारोबार भएको छ ।

यसैगरी आज नेपाल बैंक लिमिटेडको प्रतिकित्ता पाँच सय ३८ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब पाँच करोड ४४ लाख ६६ हजार पाँच सय ७४ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया