बुधबार, वैशाख १०, २०८२

जीवन विकासको कमाल : हजार लगानी ३९ हजार आम्दानी

नेपालखोज २०७८ भदौ ३ गते १२:४२

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयर लगानीकर्ता मालामाल भएका छन् । गत साउन १४ देखि दोस्रो बजारमा किनबेचमा आएको कम्पनीको सेयर मूल्य बिहीबार (आज) सम्म ३,९०६ रुपैयाँ पुगेको छ । ९१४ रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको मूल्य तीन साता पनि नपुग्दै ४ हजार नजिक पुगेको हो ।

कम्पनीको साधारण सेयर (आईपीओ) मा १० कित्ता सेयर पर्नेले अहिलेसम्म ३९ हजार बढी कमाइ गरेका छन् । कारोबारमा आएदेखि नै उक्त कम्पनीको माग उच्च भएको हो । साताको अन्तिम कारोबारको दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिक्रीकर्ता खासै देखिएका छैनन् भने १ लाख ६१ हजार भन्दा बढी कित्ता सेयरको माग भएको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म २६६ कित्ता सेयर किनबेच भएको छ । प्रतिकित्ता ६ हजार रुपैयाँसम्म पुग्ने बजार हल्लाको कारण लगानीकर्ताले सेयर होल्ड गरेका हुन् । जीवन विकासको प्रतिसेयर आम्दामी (ईपीएस) ११३ रुपैयाँ रहेको छ । वित्तीय अवस्था राम्रो देखिएकाले अधिकांश लगानीकर्ताको आकर्षण देखिएको हो ।


कम्पनीले सर्वसाधारणमा बिक्री गरेको समेत गरी कुल ६० लाख ८४ हजार एक सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । सीमित सेयर संख्या र प्रतिसेयर आम्दानी राम्रो देखिकाले लगातार कम्पनीको मूल्य बढेको देखिएको छ । अझै केहीदिन दोस्रो बजारमा उक्त कम्पनीको माग उच्च हुने देखिन्छ ।

प्रतिक्रिया