म परदेश भोग्दै छु

भनिन्छ…
पुर्खाको पौरख खेलाँची हुँदैन ।
शहीदको मृत्यु साधारण हुँदैन ।
देश स्वयम् विस्थापित हुँदैन ।
देश स्वयम् आशुमा डुब्दैन ।
हो…. तर
देश डुबाइन्छ ।
देश रुवाइन्छ ।
वर्तमानमा
म यही अनुभव समेट्दै छु ।
म आफ्नै देशभित्र परदेश भोग्दै छु ।
एउटा स्वतन्त्र उपनिवेश भोग्दै छु ।
देश- सीमा क्षेत्रबाट तस्करी भएको छ ।
देश- चुक्ली,चाप्लुसी र चाकरीको-
भकारी भएको छ ।
देश- चरेस गन्हाउँछ ।
देश- धोती-टोपी हराउँछ ।
वर्तमानमा
म उकुस-मुकुस परिवेश भोग्दै छु ।
म आफ्नै देशभित्र परदेश भोग्दै छु ।
एउटा स्वतन्त्र उपनिवेश भोग्दै छु ।
देश- खाडी धाउँदै छ ।
देश- अनिकाल ब्याउँदै छ ।
जुलुस पिउँदै छ ।
अनुहार चपाउँदै छ ।
वर्तमानमा
म मनको तराजुमा पहाड मधेश जोख्तैछु।
म आफ्नै देश भित्र परदेश भोग्दैछु।
एउटा स्वतन्त्र उपनिवेश भोग्दैछु।
देश- ससाना व्यवहार भित्र कैद छ।
मझौला घरवार भित्र कैद छ।
देश- समष्ठीमा-
ठूला ठूला दरबारभित्र कैद छ ।
खोइ! के भनौं- के नभनौं !
बुद्ध जन्माउने देशले,
जंगे पनि त जन्मायो ।
जंगे मानिस बेचेर- मानिस भयो ।
जंगे मानिस किनेर- मानिस भयो ।
यस प्रसंगमा-
कुरा नलुकाइ यसो भनौं-
जंगे देश भयो ।
देश जंगे भयो ।
त्यसैले- वर्तमानमा
म जंगको अवशेष भोग्दै छु ।
आफ्नै देशभित्र परदेश भोग्दै छु ।
एउटा स्वतन्त्र उपनिवेश भोग्दै छु ।
प्रतिक्रिया