पोल

“हेलो, अनुपका बाबा ! हेर्नुस् न भोलि जग्गा पास गर्न भनेर झिकेको पैसा राति नै चोरी भएछ । घरमा भएका सबै गरगहना पनि लगेछ ।” कतारमा भएको श्रीमानलाई फोन गर्दै कमला क्वाँक्वाँ रोई ।
“नरोऊ सानू ! हुने कुरा भइसक्यो । अब रोएर केही हुँदैन । धन्न तिमी र छोरालाई केही गरेनछन् । सम्पत्ति भन्ने कुरा त फेरि फेरि नि कमाइन्छ नि । तिमीहरू सुरक्षित छौं, मलाई त्यही लाख भयो ।” कतारबाट सुमनले भन्यो ।
सुमनको घर चोरी भएको कुरा जताततै फैलियो । पुलिस आयो, घटनास्थलको निरीक्षण गर्यो । कमलासँग बयान लियो । गाउँलेहरूले नि उनीहरूका घर चोरी भएकोमा खेद प्रकट गरे ।
धेरै अनुसन्धानपछि पनि चोर पत्ता लागेन । बिदा मिलाएर कतारबाट सुमन आयो । ऊ आएको एक साता नहुँदै कमला हराई । उसले सबैतिर खोज्यो । केही सीप नलागेपछि पुलिसलाई खबर गर्यो । तर पनि पत्ता लागिरहेको थिएन ।
ऊ निकै चिन्तित भयो । उसले छोरालाई अँगालो हाल्दै भन्यो , “मलाई माफ गर छोरा , मैले तिम्री हराएकी ममीलाई खोज्न सकिनँ ।”
“बरु माफी त मैले माग्नुपर्छ बाबा हजुरसँग । मैले डरै डरमा हजुरसँग धेरै कुरा लुकाएँ । यो घरबाट न जग्गा किन्ने पैसा हराएको हो न ममी नै । यो सब रवि अंकल र ममीको खेल हो । तैंले मुख खोलिस् भने तेरो बाउलाई मारिदिन्छु भनेकाले मैले कसैलाई नभनेको । ममीले भन्नुभएको रवि अंकल त ममीको पहिलादेखिकै बोइ फ्रेन्ड रे । म त रवि अंकलको छोरो रे ।” छोराले यति कुरा बकिरहँदा सुमन भुइँमा बेहोस अवस्थामा ढलिसकेको थियो ।
प्रतिक्रिया