युरिक एसिड बढ्दा के खाने ?

रगतमा युरिक एसिडको मात्रा बढेर भएको बाथलाई चिकित्सा विज्ञानमा गौट बाथ रोग भनेर भनिन्छ । यो रोगले लगभग २ प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ ।यो रोग लाग्दा एक्कासि जोर्नी रातो, तातो, भएर दुख्ने, सुन्निने र चलाउनै गाह्रो हुने हुन्छ । लक्षण एक्कासि देखापरे पनि यस रोगका पछाडि लामो समयदेखि घर गरेर बसेको अनेकौं रोग कारक तत्त्वहरूको ठूलो हात हुन्छ । रगतमा युरिक एसिडको मात्रा बढ्न थालेपश्चात् एसिडको क्रिष्टल जोर्नीमा जम्न थालेपश्चात गौट बाथरोगको लक्षणहरू देखापर्छ । यसरी युरिक एसिड बढेर गौटबाथ देखिनुमा हामीले खाएको खानेकुराको पनि अहम् भूमिका हुन्छ ।
खानेकुरा विशेषगरी उच्च प्युरिन भएका खानेकुराहरूको सेवनले युरिक एसिडको उत्पादन बढाइदिने र गौट भएकाहरूले उच्च युरिक एसिडलाई शरीरबाट बाहिर निकाल्न नसक्ने हुँदा रक्त युरिक एसिडको मात्रा बढ्ने र गौटका रूपमा प्रकट हुने गर्छ । यसर्थ युरिक एसिड भएकाहरूले गौटबाथलाई ट्रिगर गर्ने खानेकुरा खानु हुँदैन ।
खान हुने खानेकुराहरू : युरिक एसिड बढेकाहरूले कम प्युरिन भएको खानेकुराहरू खानुपर्ने हुन्छ । १०० ग्राम खानेकुरामा १०० मिलिग्रामभन्दा कम प्युरिन भएको खानेकुरालाई कम प्युरिन भएको खानेकुरा भनिन्छ ।
१. पर्याप्त पानी : रगतमा युरिक एसिडको मात्रा निर्जलता (डिहाइड्रेसन) को कारणले पनि बढ्ने गर्छ । बढेको युरिक एसिडलाई पिसाबद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार-पाँच लिटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटिमा धेरै नपिएर थोरै थोरै गरेर पिउनुपर्छ । दिउँसो घण्टा-घण्टाको अन्तरालमा २/२ गिलास पानी पिउनुपर्छ । मिर्गौला विकृत भएर युरिक एसिड बढेको भए धेरै पानी पिउन हुँदैन ।
२. फलफूल एवं सलाद : युरिक एसिड एउटा मेटाबोलिक समस्या भएकाले यसको प्रतिकार गर्न प्रशस्त फलफूल एवं सलादको सेवन गर्नुपर्ने हुन्छ । युरिक एसिडबाट ग्रस्त व्यक्तिले दैनिक आफ्नो तौलको २ प्रतिशत फलफूल एवं सलाद बिहान एक प्रतिशत र दिउँसो एक प्रतिशत गरेर खानुपर्ने हुन्छ अथवा ७० किलो तौल भएको व्यक्तिले तौलको २ प्रतिशत यानि कि १४०० ग्राम बिहान ७०० ग्राम र दिउँसो ७०० ग्राम गरेर खानुपर्ने हुन्छ ।
३. सग्ला अनाज : युरिक एसिडलाई जित्न खानेकुराहरूलाई सकेसम्म प्राकृतिक रूपमै खानुपर्ने हुन्छ । प्रशोधित खानेकुराको सेवन युरिक एसिडको मुख्य कारक तत्त्व मध्यको एक हो ।
४. चेरी : प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुर्याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्त्व हुन्छ । यसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट बाथ हुनबाट बचाउँछ । दैनिक २० देखि ३० चेरी खाने गरेमा रगतमा युरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएकाहरुले हरेक ४/४ घण्टामा ३०-४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पुर्याउँछ ।
५. स्याउ : दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्त्व पाइन्छ । जसले युरिक एसिडलाई न्युट्रालाइजेसन गर्नुका साथै बाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
६. अमिला फलफूल : अमिला फलफूलमा सिट्रक एसिड पाइन्छ । जसले युरिक एसिडलाई निस्तेज गर्न सहयोग गर्छ ।
७. फाइबर्स फुड : चोकर, रेशा र चोकरयुक्त, खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसाबबाट बाहिर निकाल्न सहयोग गर्छ ।
८. ज्वानोको झोलको सेवनले पनि युरिक एसिड समनमा मद्दत पुर्याउँछ ।
९. केरा, ब्रोकाउली, काँक्रो, गाजरजस्ता फलफूल तथा तरकारीहरूमा प्रशस्त एन्डिअक्सिडेन्ट र भिटामिनहरू पाइन्छ । यी फलफूलहरूमा पाइने भिटामिन ‘ए’, ‘सी’, ‘ई’ र ‘बी’ कम्प्लेक्सहरूले युरिक एसिडबाट हुनेबाट कम गर्न मद्दत गर्छ ।
१०. आलसको तेल : आलसको ओमेगा ३ को स्रोत हो । यसले युरिक एसिड बढ्छ ।
११. ग्रिन टी : ग्रिन-टीमा एन्टी अक्सिडेन्टको प्रचुर मात्रा भएकाले युरिक एसिडमा राम्रो मानिन्छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया