बुधबार, वैशाख १०, २०८२

५६ अंकले घट्यो नेप्से, फाइनान्स र निर्जीवन बिमाबाहेक सबैको सूचक रातै

नेपालखोज २०७८ भदौ ८ गते १५:५६

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (मंगलबार) नेप्से उच्च अंकले घटेको छ । नेप्से आज ५६ दशमलव तीन अंकले घटेर तीन हजार एक सय २४ दशमलव ८७ अंकमा झरेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ८१ अंकले घटेर पाँच सय ७७ दशमलव ६६ अंकमा झरेको छ । दुई सय २५ कम्पनीको एक लाख ५६ हजार नौ सय १३ पटकको कारोबारमा दुई करोड ५३ लाख १६ हजार आठ सय पाँच कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार हुँदा दुईवटा समूहको सूचक बढेर बाँकी ११ समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ८२ अंकले घटेर दुई हजार ६१ दशमलव ८१ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि दुई सय ३२ दशमलव ७७ अंकले घटेर तीन हजार पाँच सय १८ दशमलव ३३ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय ४३ अंकले घटेर १८ सय ७० दशमलव ४१ अंकमा झरेकामा विकास बैंक, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् । निर्जीवन बिमा समूहको सूचक पनि एक सय १२ दशमलव आठ अंकले बढेर १४ हजार आठ सय ८८ दशमलव ५६ अंकमा चढेकामा फाइनान्स समूहको सूचक पनि बढेका छन् ।

आज गोर्खाज फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय १० रुपैयाँ २० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा रुरु जलविद्युत् कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर १६ सय ३१ रुपैयाँ ३० पैसामा प्रतिकित्ता कारोबार भएको छ ।

यसैगरी आज अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ७० रुपैयाँ अन्तिम मूल्यमा ७५ करोड ४३ लाख ३३ हजार सात सय २३ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया