अफगानिस्तानी पप स्टार आर्यनाले देश छाडिन्, थिइन् तालिबानको निशानामा

काबुल । अफगानिस्तानकी पप स्टार आर्यना सइद तालिबानी कब्जापछि देश छाडेर भाग्न सफल भएकी छन् । भनिन्छ उनी तालिबानको निशानामा थिइन् किनभने आर्यना हिजाब लगाउँदैनथिइन् र महिला भएर पनि गीत गाउँथिन् ।
अफगानिस्तानकै सबैभन्दा लोकप्रिय महिला पप स्टार आर्यना सइद काबुल सहरमा तालिबानको कब्जापछि सुरक्षित रुपमा देशबाट बाहिरिन सफल भएकी छन् । अफगानिस्तानमा तालिबानको जितपछि सबैभन्दा बढी खतरा फिल्म इन्डस्ट्री, फिल्ममेकर, कलाकार तथा मनोरञ्जनको क्षेत्रसँग जोडिएका मानिसहरुमा मडारिएको बताइन्छ ।
आर्यना सइदले भनेकी छन्- म गएको बिहीबार नै काबुलबाट निस्किसकेकी थिएँ । उनले सोसल मिडिया इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएकी हुन् । आर्यना सइदले इन्स्टाग्राममा आफ्ना दश लाखभन्दा बढी फलोअर्ससँग भनेकी छन्, ‘म जिउँदै छु र ठीक छु । केही बिर्सन नसकिने रातहरुपछि म कतारको दोहा पुगेकी छु र इस्तानबुलका लागि आफ्नो फ्लाइटको पर्खाइमा छु ।’
यूएस कार्गो जेटको प्रयोग
न्युयोर्क पोस्टको रिपोर्टअनुसार, जब अफगानिस्तानमा महिला तथा युवतीहरु कट्टर तालिबानी लडाकुहरुबाट आफ्नो सुरक्षाको गुहार लगाइरहेका छन् । ३६ वर्षीया गायिका आर्यना सइद भने यूएसको कार्गो जेट चढेर देशबाट बाहिरिएकी छन् । उनी हालै अफगान टेलिभिजनबाट प्रशारण भएको एक सिंगिङ रियालिटी शोको जज पनि थिइन् ।
टर्कीको यात्रा
आर्यना आफैंलाई भाग्यमानी मान्छिन् किन भने उनी त्यहाँबाट भाग्न सफल भइन् । अहिले हजारौं अफगानी देश छाड्न काबुल विमानस्थलमा फ्लाइट चढ्न संघर्ष गरिरहेका छन् । आर्यना दोहाबाट टर्की पुगेकी छन् जहाँ उनी आफ्ना पति हसिब सइदका साथ बस्छिन् । हसिब अफगान म्युजिक प्रोड्युसर हुन् ।
आर्यना मान्थिनन् तालिबानी कानुन
आर्यना सइदले अफगानिस्तानमा रहँदा कहिल्यै हिजाब ओढिनन् । उनी महिला भएर पनि गीत गाउँथिन्, स्टेडियम र मन्चहरुमा पुगेर दर्शक-स्रोतालाई उफार्थिन् जुन तालिबानी शासनमा सम्भव छैन । यस्ता गतिविधि तालिबानी कानुनविरुद्ध हुन् ।
अफगानिस्तानकै एक मानवअधिकारवादी कार्यकर्ताले ट्विट गरेका छन्- ‘२०१५ मा आर्यना सइदले तीनवटा बन्धन तोडिन् । पहिलो- महिला भएर पनि गीत गाइन् दोस्रो- हिजाब लगाइनन् अनि तेस्रो- एक महिलाका रूपमा स्टेडियम प्रवेश गरिन्, जुन तालिबानी कानुनमा निषिद्ध छ । अब, ती दिन एउटा सपनामा परिवर्तित भएका छन् ।’
प्रतिक्रिया