बिहीबार, वैशाख ११, २०८२

कोरोनाको नक्कली रिर्पोट बनाउने कर्मचारीमाथि छानबिन सुरु

नेपालखोज २०७८ भदौ १० गते १५:२३

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।

मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको छ ।

केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिर्पोट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए । यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको उनले जानकारी दिए ।

उपसचिव बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उनले बताए ।

यादवलाई सेवा सर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया