साउनमा ३,९०० अपराधका घटना : करिब ५ हजार अभियुक्त, ३,७१६ जना पक्राउ

काठमााडौं । गत साउन महिनामा दर्ता भएका कूल ३ हजार ९ सय १६ वटा अपराधमा ४ हजार ९ सय २ अभियुक्तहरू संलग्न रहेका छन् । जसमध्ये ४ हजार ५ सय २८ पुरुष र ३ सय ७४ महिला रहेका छन् ।
अपराधमा संलग्नमध्ये ३ हजार ७ सय १६ जना पक्राउ परेका छन् भने १ हजार १ सय ८६ जना फरार रहेका छन् । पक्राउ परेका अभियुक्तहरूको ७६ प्रतिशत छन् भने फरार रहेका २४ प्रतिशतको खोजी भइरहेको प्रहरीले जनाएको छ । साउन महिनामा अदालतबाट सजाय तोकिएका १ हजार १ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
उनीहरूलाई ६ सय ३ वर्ष ५३ महिना ८६ दिन कैद सजाय तोकिएको छ । साथै जरिवानाबापत विगो रकम ११ करोड ३० लाख ४९ हजार ८ सय ४७ रुपैयाँ असुल भएको छ । सो अवधिमा विभिन्न शीर्षक मार्फत ३६ करोड ४७ लाख ६५ हजार ३ सय ३१ रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये अवैध मालसामान बरामदबाट मात्र ११ करोड ७६ लाख २० हजार ७ सय ७३ रुपैयाँ संकलन भएको छ ।
साउन महिनामा भएका १ हजार ८ सय १८ वटा सवारी दुर्घटनामा परी १ सय ६० जनाको मृत्यु भएको छ भने ५ सय ४० जना गम्भीर घाइते भएका छन् । औसतमा देशभरि प्रति दिन ५८ वटा सवारी दुर्घटना दर्ता भएको तथ्याङ्कले देखाएको छ ।
उक्त महिनामा कूल ३ सय ६१ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता भएकोमा ५ सय ५६ जना मानिसहरू पक्राउ परेका छन् । साथै ३३५.८ किलो गाँजा, १८.९ किलो चरेश, ०.८९ ग्राम हेरोईन र ०.७ ग्राम अफिम बरामद भएको छ । साउन महिनामा ५८ नाल हातहतियार, विभिन्न हतियारहरूमा लाग्ने ९७ राउण्ड गोली र ६ थान म्यागजिन बरामद गरिएको छ ।
अवैध हातहतियार सहित ३९ जना पक्राउ परेका छन् । साउन महिनामा कूल ३ हजार ९ सय १६ वटा अपराधका घटना दर्ता भएका छन् । दैनिक १ सय २६ वटा मुद्धा दर्ता हुने गरेको तथ्याङ्कले देखाएको छ । घटनामध्ये ज्यान सम्बन्धी ७ सय १८ वटा, आत्महत्याको ५ सय २ वटा, चोरीको २ सय ९६, संगठित,आर्थिक अपराध ५ सय ४४, सामाजिक अपराध ८ सय ९१, महिला बालबालिका विरुद्ध ४ सय ६६, सवारी सम्बन्धी १ सय ३२ र विविध तर्फ ३ सय ६७ वटा मुद्दा दर्ता भएका छन् ।
यसैगरी हातहतियार तथा खरखजाना सम्बन्धी २५ वटा, बाल यौन दुराचार २५ वटा, अपहरण वा शरीर बन्धक सम्बन्धी १४ वटा र मानव बेचबिखन तथा ओसारपसारका १७ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका ५ सय २ वटा घटनामध्ये झुन्डिएर ४ सय २२, विष खाएर ७३, पानीमा डुबेर ३, हाम फालेर २, हातहतियार औजारबाट १ र आगो लगाएर १ जनाले ज्यान गुमाएका छन् । साउन महिनाभरि ४ सय ३९ विपद्का घटनामा २३ जनाले ज्यान गुमाएका छन् भने ६९ जना घाइते भएका छन् ।
जसमध्ये पहिरोबाट ७, बाढीबाट ५, चट्याङबाट ५, जनावरको आक्रमणबाट २, आगलागीबाट २ र डुङ्गा दुर्घटनाबाट २ जनाको ज्यान गएको थियो । उद्धारको लागि २ हजार ७ सय ७ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको थियो ।
साउन महिनामा विभिन्न माध्यम मार्फत प्रहरी कर्मचारी विरुद्ध जम्मा ४८ वटा उजुरीहरू दर्ता भएकोमा १३ वटा उजुरीहरू फछर्यौट भएका छन् भने ३५ वटा कार्यान्वयनको चरणमा रहेका छन् । साथै २ सय २ जना प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही भएको छ ।
-प्रतीकात्मक तस्बिर
प्रतिक्रिया