मनसुनजन्य घटनामा साढे ३ महिनामा ८५ जनाको मृत्यु

काठमाडौं । गत जेठ ३१ पछि मुलुकभर मनसुनजन्य घटनामा ८५ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ४४ जना हराएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म पाँच हजार ५ सय बढीलाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख होमकला पाण्डेले जानकारी दिए ।
गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापनसम्बन्धीे बैठकमा विवरण सार्वजनिक गर्दै उनले अहिलेसम्म विपद्बाट ७० जिल्ला प्रभावित भएको बताए ।
आजमात्रै बाढीबाट ४०० जना प्रभावित भएको र उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । आज तीनको मृत्यु र तीन जना वेपत्ता भएका छन् । त्यस्तै १९ घरमा क्षति भएको जनाइएको छ ।
बाढी पहिराले क्षति पुर्याएको ३८ जिल्लामा पुनःनिर्माण गर्न एक अर्ब ११ करोड रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ । महाशाखा प्रमुख पाण्डेले बाढी पहिराका कारण आज साना ठुला गरेर २९ सडक अवरुद्ध भएको जानकारी दिए ।
प्राप्त विवरणअनुसार यो पटक वर्षाका कारण कैलाली, नवलपरासी, कञ्चनपुर, कैलाली, दाङ, रौतहट, रुपन्देही, महोत्तरी, कपिलवस्तु, चितवन, खोटाङ, सिन्धुली, बाजुरालगायत जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया