सोमबार, वैशाख ८, २०८२

नयाँ पिँढी

आचार्य प्रभा २०७८ भदौ १२ गते ९:०८

“तेरो ऐले घरव्यवहार चलाउने उमेर भएको छैन । चुप लागेर बस्, पढ । “
“बुवा मैले पनि बेलैदेखि घरगृहस्थी चलाउन व्यवहार सिक्नुपर्छ ।”
” जुङ्गा उम्रेको छैन । के चलाउँछस् घरव्यवहार ? मेरा हातगोडा चलुन्जेल म आफ्नो व्यवहार कसैलाई सुम्पिन्नँ । “
“अब त वृद्ध भइसक्नु भो । तपाईंले आराम गर्ने बेला हो ।”
“तँ सिँगानेले चलाइस् व्यवहार ?”
“मेरो साथी सतिशले पच्चीस वर्षकै उमेरमा घरव्यवहार धानेको छैन त ? उसले कति उन्नति गर्दै छ ! आफ्नो हातमा व्यवहार लिएपछि अरु कारखाना थप्यो । अहिले उनीहरुको जीवनस्तरै बद्लिएको छ ।”

यसरी बाउ छोराको घर व्यवहारबारेमा वादविवाद भइरहेको सुनेर आमाचाहिँले भनिन् ।
“छोराको कुरा ठीकै छ त ! आफूले हिम्मत गरेर व्यवहार चलाउँछु भन्छ भने किन नदिनु ?”
“तँ बाठी नहो । अहिले यसको घरव्यवहार चलाउने उमेर भा छ ?” बाउले अझ रिस खनाए ।
“हैन तपाईं पनि बूढो गोरुले गाई ओगटे झैं नगर्नु न ! घर व्यवहार ओगट्न । अब त नयाँ पिँढीलाई जिम्मा लाएर हामीले आराम गर्नुपर्छ । त्यही पनि हाम्रो छोरा बुझकी छ । पढेलेखेको छ । आजकलकाहरुले सबथोक जान्दछन् । “श्रीमतीले अर्थ्याइन् ।
“जान्यो तेरा छोराले । किताब घोकेजस्तो हो ? घर व्यवहार गर्न ?” बाउ जंगिए ।”
“जिम्मा लाएर त हेरौं । गरेपछि थाहा हुन्छ । नगरी कसरी थाहा हुन्छ ? तपाईं पनि यै देशका बुढा नेताहरुले सत्ता च्यापे झैं घरव्यवहार च्यापेर बस्नुहुन्छ ? देख्नुभएको छैन ? बूढाहरुले च्याप्न मात्र जानेका छन् । अन्य नयाँ केही गरेका छन् ? उही पुरानो सोंच, पुरानो चाला । त्यसैले त देश भड्खालोमा पर्दै छ नि ।”
जवाफ दिइन् आमाले ।

बाबुआमाको सवाल जवाफ सुनेर छोरोले भन्यो । -“बुबा घरव्यवहार र सत्ता चलाउनु उस्तै हो । पुरानो सोंचले मात्र पनि घरको प्रगति हुन्न । उही खानु र बाँच्नु मात्र हो । त्यस्तै सत्ता चलाउनु पनि अबको जमानामा पुराना सोंचले उही देश छ भन्नु मात्र हो ?”

“नसिका म केश फुलेको बूढोलाई। “बाउले ठूलो स्वरमा हप्काए।
छोरोले डराउँदै भन्यो । -“बुबा हाम्रो देशका सत्ता चलाउँने नेताहरु पनि केश फुलेकै छन् त ? तपाईू नै सधैं गनगन गर्नुहुन्छ । सक्ने भए देश यी बूढाखाडाको हातमा मात्र सत्ता पारेर भनेर । “

छोराको जवाफले बूढा चुप भएर अर्कातिर फर्किए ।

प्रतिक्रिया