४९ अंकले नेप्से घट्दा १५ अर्ब ६५ करोडकाे काराेबार

काठमाडौं । तिब्र उतारचढावकाबीच नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार कारोबार खुलेको पहिलो एक घण्टासम्म नेप्से उच्च अंकले बढेको थियो ।
त्यसपछि भने घट्दै गएको नेप्से अन्तिम समयमा आएर ४९ दशमलव १८ अंकले घटेर तीन हजार ४४ दशमलव ८६ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५७ अंकले घटेर पाँच सय ६२ दशमलव ८८ अंकमा पुगेर रोकिएको छ ।
दुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार एक सय ३७ पटकको कारोबारमा दुई करोड ४८ लाख ८८ हजार तीन सय १३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
उक्त खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार पाँच सय पाँच रुपैयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा फाइनान्स समूहको सूचक २१ दशमलव ८८ अंकले बढेर बाँकी समूहको सूचक भने उच्च अंकले घटेका छन् ।
जसमध्ये वाणिज्य बैंक समूहको सूचक ३० दशमलव पाँच अंकले घटेर १९ सय ९५ दशमलव दुई अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक दुई सय ५३ दशमलव सात अंकले घटेर १४ हजार एक सय ६२ दशमलव ५५ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि तीन सय चार दशमलव दुई अंकले घटेर १७ हजार दुई सय ७३ दशमलव ७४ अंकमा झरेकोमा जलविद्युत, विकास बैंक, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
आज नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले नै बढेर ११ सय ३७ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा रुरु जलविद्युत परियोजनाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर एक हजार चार सय ९५ रुपैयाँ ८० पैसामा कारोबार भएको छ ।
यसैगरी आज अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ७५ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार सात सय ७८ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया