सोमबार, वैशाख ८, २०८२

विक्षिप्त मन !

प्रतिमा ज्ञवाली २०७८ भदौ १७ गते १५:०२

विक्षिप्तिएको एउटा मन
बरालिएका रहरहरु र
लर्खराएको जिन्दगी पनि
साह्रै बोझिलो हुँदो रहेछ ।
खोइ कसरी बुझ्ने हो परिभाषा ?
भन्नेले त सजिलैसँग
सुकिलो लुगा भित्रबाटै
जिन्दगी घाम पानी हो भनेर गयो ।
न ऊ घामले डढ्यो,
न पानीले भिज्यो कुनै दिन ।

यस्तै कथा छ एउटा
‘दमार’ बस्तीको पनि ।
गर्मीको उराठलाग्दो दिन
पसिना काढ्दै,
भाग्यलाई दोष दिँदै
मुखियालाई सराप्दै
अनि,
आफ्नै जन्ममा हीनताबोध हुँदै ।
निको मान्दैनन् पखा पखेरा
र कान्लोहरु ।
गाली गर्दै पुर्खाहरुलाई,
धारे हात लगाउँदै
डाँडाकाँडा र भञ्ज्याङहरुलाई
निधार खुम्च्याएर,
घन पिटिरहेका हुन्थे,
एउटा दाइ ।

तिनको पनि सपना हुँदो हो,
तिनको पनि मन हुँदो हो ।
दिक्दार लाग्दो हो आफैंसँग
आँसु झर्दो हो ।
आँसु पसिनामा मिसिँदो हो
अनि,
मान्छेहरुले रोएको नदेख्दा हुन् ।
लाग्दो हो तिनलाई पनि
राम्रो लाउने र मीठो खाने
दसैं नआउँदै ।
हरेक चोटिको घनको हिर्काइमा
भाग्य स्खलित भएर
कुर्कुच्चासम्म पुग्ने गर्थ्यो।
गरिबीको धड्कन बढ्दो हो छातीमा ।
सम्झिँदा हुन्
माटे भित्ता र स्याउले छाना ।
छानाबाट घाम छिर्दो हो
त्यो घाम आँखामा पर्दो हो ।
अनि,
कर्कसे बूढीको ओठे जवाफसँगै
नांगा छोराछोरीको रुवाइले
अन्तष्करणमा
एउटा अर्कै मन प्रस्फुटित भएर
झंकार दिँदो हो
धमनीको भित्ताहरुमा ।

बाटो हिँड्ने सहरियाले
नि:शुल्क फोटो खिच्दा हुन्,
फेसबुकमा हाल्दा हुन्
र दुनियाँ कमेन्टमा भुल्दो हो ।

हिजोआज,
गलेका छन् उनी पनि,
बढेको दमसँगै घटेको छ कदम ।
मांसपेसी लोलिएर
गुरुत्वाकर्षणले
कुनै वस्तु खिचे झैं ।
कहाँ गयो होला त्यो उमेर,
कसरी सक्कियो होला
घन उचाल्ने बल,
तागत घटेपछिको शरीर
लागत घटेपछिको
खेत झैं बन्जर भएको छ
झुसिलो बनेर ।

अचेल,
सम्झिँदा हुन्
उमेर छँदाको हरेक दिन
अनि
भंग हुँदो हो
जिन्दगी भाग्य र सपनाहरु
एकै साथ त्रिवेणी बनेर
कुनै नदी किनारमा ।
सतीदेवीको अंगपतन भए झैं ।

आफैंभित्र आफू खोज्दै…

प्रतिक्रिया