सोमबार, वैशाख ८, २०८२

अरिंगाल र झिँगा

राम योन्जन`गाउँले´ २०७८ भदौ १९ गते ८:०८

प्राकृतिक तागतको-
आफैंले गरेको निर्मम हत्यापछि,
उफ ! अरिंगालहरू- परिवर्तनमा झिँगा भए ।

र झिंगाहरू अरिंगाल बने ।

अरिंगालहरू- शक्तिको दुरुपयोग गरिरहेछन्
र सधैं गरिरहन्छन् ।

प्रकृतिको निमित्त
शक्तिहीन तर झन् खतरनाक हुँदारहेछन् झिंगाहरू।

हरेक लहर लहरमा
कोरोनाको कहर उमारिरहने खतरनाक झिँगाको शुभ कार्य ।

यतिखेरको निर्मित अरिंगालहरू
यतिखेरको निर्मित झिँगाहरू
एक-अर्काको पूर्वाग्रहमा उत्रिरहेछन्
भेटेसम्म टोक्ने र चिल्ने दाउमा छन् अरिंगालहरू !
सकेसम्म सुन्दर चिजलाई फोहोर बनाउने दाउमा छन् झिंगाहरू।

यो थाहा छैन- हाम्रो सम्बन्ध एउटै आँगनसँग आबद्ध छ,
र थाहा छैन- हाम्रो अस्तित्व एउटै घरले दिइरहेछ
यो पनि थाहा छैन..
हामीले टेकेको प्रत्येक पैतालाको माटोमा
पुर्खाले खनेको उही एउटै बाटो छ।

अरिंगालहरूलाई प्रशंसा गरियो भने-
झिँगाहरूको गुणगान गाइयो भने-
काँडाहरूलाई थप उत्तेजित पारियो भने-
ईर्ष्याले फूलको हत्या गरियो भने-

सम्झिनू- प्रकृतिले माफ दिने छैन हामीलाई ।

अन्त्यमा यतिचाहिँ अनिवार्य बुझ्नू
अप्राकृतिक उत्पादनको आयु-
केवल क्षणिक हो- केवल खहरे हो।

एउटा अनिश्चित लाहाचार यात्रा हो ।

प्रतिक्रिया