बुधबार, वैशाख १०, २०८२

नेप्सेमा भिषण पहिरो, १०८ अंकले घट्दा ११ अर्ब २४ करोडको सेयर किनबेच

नेपालखोज २०७८ भदौ २० गते १५:३४

काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको सुरुवाती कारोबार दिन आइतबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज एक सय आठ दशमलव २६ अंकले घटेर दुई हजार आठ सय १८ दशमलव ७२ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ७६ अंकले घटेर पाँच सय २२ दशमलव एक अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय २३ कम्पनीको एक लाख २९ हजार एक सय ४२ पटकको कारोबारमा दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर खरिद-बिक्री भएकामा कुल कारोबार रकम ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ रुपैयाँ पुगेको छ । आज कारोबार खुलेलगत्तै घट्न थालेको नेप्से लगातार घटेपछि नेगिटिभ सर्किट ब्रेक लागेको थियो । सोपश्चात खुलेको नेप्से अन्तिमसम्म पनि घटेको थियो ।

आज १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर बजार पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४४ दशमलव ५१ अंकले घटेर एक हजार नौ सय १९ दशमलव ७८ अंकमा झरेकामा विकास बैंक समूहको सूचक पनि तीन सय ९४ दशमलव आठ अंकले घटेर पाँच हजार ७७ दशमलव ३४ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय १९ दशमलव ४६ अंकले घटेर १२ हजार नौ सय ७६ दशमलव ७८ अंकमा झरेकामा जीवन बिमा समूहको सूचक पनि पाँच सय ११ दशमलव ७८ अंकले घटेर १६ हजार २९ दशमलव ७६ अंकमा झरेको छ ।

यीबाहेक जलविद्युत्, फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय ७३ रुपैयाँ ८० पैसामा प्रतिकित्ता सेयर कारोबार भएकामा जानकी फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर ६ सय ८५ दशमलव ८० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।

यसैगरी अरुण भ्याली हाइड्रो पावर कम्पनीको प्रतिकित्ता ६ सय ४१ रुपैयाँ ५० पैसामा ७० करोड ३३ लाख ३० हजार दुई सय आठ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया