बागलुङमा पहिरो जाँदा विद्यालयमा क्षति

बागलुङ । वर्षासँगै खसेको पहिराेले काठेखोला गाउँपालिका-३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ ।
शनिबार राति पहिराे जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो ।
एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र अर्को कोठामा आंशिक क्षति पुगेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार विकले जानकारी दिए ।
उक्त भवनमा कक्षा ७ र ८ सञ्चालित थियो । भवन भत्किएपछि तत्कालै कक्षाकोठाको अभाव भएको प्रअ विकको भनाइ छ । ‘वडा कार्यालयमा क्षतिबारे जानकारी गराएका छौँ, विद्यालय पुनःनिर्माणमा पहल हुनेमा आशावादी छौं’, प्रअ विकले भने । उनले दरबन्दी अभावलगायतका समस्या झेलिरहेको विद्यालयमा प्राकृतिक विपत्काे मार थपिएको बताए ।
विसं २०६७ मा स्थापना भएको विद्यालयमा चार शिक्षकको मात्र दरबन्दी छ भने बाँकी शिक्षक स्थानीय स्रोतबाट राखिएका छन् ।
विद्यालयले तल्लो तहदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ । विद्यालयमा १०७ विद्यार्थी अध्ययनरत छन् । कोरोना महामारीका बेला पनि टोलशिक्षालगायतका वैकल्पिक विधिमार्फत बालबालिकाको सिकाइ सहजीकरणलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया