लामो पर्खाइपछि निमाको कमब्याक

काठमाडौं । एक जमानाका सुपरहिट पप गायक निमा रुम्बा लामो विश्रामपछि पुन: संगीतजगत्मा पुनरागमन गर्दै छन् ।
निमाले यो जानकारी आफ्नो फेसबुकमार्फत दिएका हुन् । निमाले लेखेका छन्- केही समयको अन्तरालपछि यहाँहरुसमक्ष शुभ बडादसैँ तथा शुभ-तिहारको उपलक्ष्यमा छिटै सांगीतिक कोसेली स्वरूप एउटा प्रस्तुति लिएर आउँदै छु ! निमाले आफ्नो नयाँ सिर्जनाका लागि सबैको माया तथा साथको अपेक्षा पनि गरेका छन् ।
यसक्रममा उनले सम्पूर्ण नेपाली गीतसंगीतप्रेमी दर्शक तथा स्रोता, आफ्ना प्रिय प्रशंसक तथा शुभचिन्तकहरु, दाजुभाइ तथा दिदीबहिनीहरूका साथै सम्पूर्ण साथी-मित्रहरुको सम्झना एवं अभिवादन गरेका छन् ।
निमाले आफ्नो नयाँ प्रोजेक्टको टिजर पनि सार्वजनिक गरेका छन् जसमा उनी आफ्नो पुरानै शैलीमा प्रस्तुत भएका छन् तर केही पाका देखिन्छन् । उनको यो कोसेलीको शीर्षक पागल प्रेमी राखिएको छ र त्यसको तल अंग्रेजीमा क्रेजी लभर लेखिएको छ ।
निमाका दर्जनौं गीत अत्यधिक लोकप्रिय छन् भने उनले करिब आधा दर्जन गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया