कोभिडमा पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम

ज्यानै जानसक्ने खतरालाई टार्नका लागि गरिने सघन प्रकृतिको उपचारलाई चिकित्सकीय भाषामा सघन उपचार वा इन्टेन्सिभ केयर भनिन्छ । सघन उपचारका लागि हस्पिटलहरूमा इन्टेन्सिभ केयर युनिटको छुटै व्यावस्था गरिएको हुन्छ । इन्टेन्सिभ केयर युनिटमा बिरामीलाई लगातार चिकित्सकीय निगरानीमा राखिन्छ । यहाँ बिरामीको महत्त्वपूर्ण शारीरिक मानांकहरू जस्तै रक्तचाप, श्वास गति, शारीरिक ताप, मुटुको गति वा नाडी गति, मुटुको विद्युतीय गतिविधि जाँच गर्न निरन्तर ईसीजी, मष्तिस्कको विद्युतीय गतिविधि जाँच गर्न ईईजी, रक्त अक्सिजन सेचुरेसन आदिको निरन्तर निगरानी राखिन्छ साथै आवश्यक परेको अवस्थामा अल्ट्रासाउन्ड, थोरासिस इलेक्ट्रिक बायोइम्पिडेन्स, खाना खुवाउनका लागि एनजी ट्युब, श्वासप्रश्वासलाई सहज गर्नका लागि इन्डोट्रेकियल इनट्युबेसन अथवा भेन्टिलेटरलगायत अन्य आवश्यक चिकित्सकीय प्रक्रियाहरूको प्रबन्ध गरिएको हुन्छ ।
यसरी स्वास्थ्य निगरानीको अति संवेदनशील व्यवस्था गर्दा बिरामीलाई मृत्युको मुखबाट पनि फर्काएर ल्याउन सकिन्छ । तर आईसीयू बसेकै कारणले वा आईसीयूमा गरिएका चिकित्सकीय प्रक्रियाहरूका कारणले बिरामीमा केही स्वास्थ्य समस्याहरू थपिन सक्छ । जसलाई चिकित्सकीय भाषामा पोस्ट इन्टेन्सिभ केयर सिन्ड्रोम भनिन्छ । यी स्वास्थ्य समस्याहरूलाई मुख्यतः तीन समूहमा शारीरिक समस्या, मानसिक समस्या र संज्ञानात्मक एवं भावनात्मक समस्या गरेर तीन समूहमा बाँडिएको छ ।
अ. शारीरिक समस्या
क. आईसीयूमा आर्जित कमजोरी : आईसीयू बसेर फर्किएपछि व्यक्तिमा एक किसिमको कमजोरी देखापर्न सक्छ । जसलाई आईसीयू आर्जित कमजोरी भनिन्छ भेन्टिलेटरमा राखिएकामध्ये ३३ प्रतिशतलाई यो कमजोरी देखापर्छ र एक वर्षसम्म रहन सक्छ । यसले दैनिक जीवनलाई कष्टकर बनाउँछ । यसको कारण आईयूमा लामो समयसम्म नचली बस्दा र अचेत वा अर्धचेत हुँदा वा कडा संक्रमण र प्रदाहत्मक क्रियापश्चात विकसित भएको पोलिन्युरोपथी हो।
ख. जोर्नी जाम हुने र मांशपेशीहरू सुक्ने समस्या : लामो समयसम्म आईसीयूमा कुँजिएर बस्दा हात-गोडाका जोर्नी जाम हुन र मांशपेशीहरू सुक्न सक्छ ।
ग. कुपोषण : आईसीयूमा एनजी ट्युबबाट खाना खुवाइँदा वा सलाइनमार्फत खाना खुवाउँदा पर्याप्त पोषक तत्त्वहरूको अभावमा कुपोषण विकसित हुनसक्छ ।
घ. फोक्सोको कार्यक्षमतामा ह्रास : आईसीयूमा जस-जसलाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वाश गराइएको हुन्छ । उनीहरुलाई भेन्टिलेटरबाट निकालेपश्चात पनि श्वासप्रश्वाशको समस्या रहिरहन्छ ।
आ. मानसिक समस्या : आईसीयूमा क्रिटिकल केयर गराएर ज्यान जोगाउनेहरूमा बाहिर आएपाश्चात पनि चिन्ता, उदासीनता, नैराश्यता, स्मृतिनाश, पोस्ट ट्रमाटिक स्ट्रेस, भ्रमाभास, अनिन्द्राजस्ता मानसिक समस्याहरू देखापर्छन् । यसो हुनुको मुख्य कारणहरूमा चोटपटकको पीडा, सेप्सिस, एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम, रेस्पिरेटरी फेलियोर, रक्तग्लुकोजको कम मात्रा, अक्सिजनको कमी, लामो समयसम्म कुँजिएर बस्नु र बेहोसी आदि हुन् ।
इ. संज्ञानात्मक एवं भावानात्मक विकृति : विषयवस्तुप्रति अभिमुखता, स्मृति, बुद्धिमत्ता, सचेतना, ध्यान, लगाव, एकाग्रता, लय, मूल्यांकन गर्ने र निर्णय लिने क्षमतालाई संज्ञानतात्मक क्रिया भनिन्छ । यसैगरी काम, क्रोध, लोभ, मोह, घृणा, हासो, दिक्दारी, खुसी, हर्षजस्ता मानसिक स्थितिलाई भावना भनिन्छ ।
लामो समय आईसीयू बसेर आउँदा ३० देखि ८० प्रतिशत व्याक्तिमा यी संज्ञानात्मक एवं भावनात्मक क्रियाहरूमा पनि गडबडी देख्न सकिन्छ । यसैगरी आईसीयूबाट फर्किएकाहरूमा निद्रा कमलाग्ने, दुस्वप्न देख्ने ऐंठन हुनेजस्ता समस्याहरू पनि देखा पर्न सक्छन् ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया