नेप्से २ हजार ८ सय १२ अंकमा सीमित, सातामा ३८ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । यो साता नेप्से दुई हजार आठ सय १२ दशमलव ३८ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २५ दशमलव ७८ अंकमा सीमित हुन पुगेको छ ।
नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुलेको भएपनि पहिलो दुई कार्य दिन नेप्से बढेर बाँकी तीन कार्य दिन लगातार नेप्से ओरालो लागेको थियो ।
सोही आधारमा यो साता नेप्सेको दुवै सूचक खुम्चिएको छ । यसको प्रभाव नेप्सेको साप्ताहिक कारोबार रकममा पनि परेको छ । यो साता दुई सय ३१ वटा कम्पनीहरुको चार लाख ३९ हजार तीन सय ६५ पटक सेयर किनबेच भएका छन् ।
जसअनुसार सात करोड चार लाख ४७ हजार सात सय १७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार सात सय १६ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा चार अर्ब रुपैयाँले कम हो । गत साता भने नेप्सेमा दुई सय ३० वटा कम्पनीहरुको चार लाख ७२ हजार पाँच सय ८० पटकको कारोबारमा आठ करोड ६७ लाख आठ हजार आठ कित्ता सेयर खरिद बिक्री भएका थिए ।
जसबाट कुल कारोबार रकम ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार पाँच सय १० रुपैयाँ पुगेको थियो । यो साता पहिलो दिन ७१ दशमलव ४३ अंकले बढेर दुई हजार नौ सय ४७ दशमलव ४२ अंकमा चढेको नेप्से साताको अन्तिम कारोबार दिन ७६ दसमलव ६५ अंकले घटेर दुई हजार आठ सय १२ दशमलव ३८ अंकमा खुम्चिएको थियो ।
यसबीचमा पनि नेप्से लगातार ओरालो लागेको थियो । यसैगरी पहिलो दिन १३ दशमलव तीन अंंकले उकालो लागेर पाँच सय ४८ दशमलव २९ चढेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन १२ दशमलव ७३ अंकले घटेर पाँच सय २५ दशमलव ७८ अंकमा खुम्चिएको थियो ।
यसबीचमा बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स लगातार ओरालो लागेको थियो । नेप्सेमा यो साता अपर तामाकोशी हाइड्रो पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको बढी रकम कारोबार भएका छन् ।
सेयर कारोबार भएको संख्याको आधारमा भने यो साता नेशनल हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि अगाडि परेका छन् ।
यसैगरी बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् ।
यो साता नियमित कारोबारका लागि नेरुडे लघुुवित्त वित्तीय संस्थाको बोनस सेयर, राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र २०८३ र ग्लोवल आइएमई बैंकको ग्लोवल आइएमई बैंक डिब्वेञ्चर २०८६–०८७ नेप्सेमा सूचीकृत भएका छन् ।
प्रतिक्रिया