कुल बिमा शुल्क संकलनमा ३४ प्रतिशतले वृद्धि

काठमाडौं । कुल बिमा शुल्क संकलन रकममा ३४ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिका अनुसार नेपालमा हाल १९ ले जीवन बिमा, २० ले निर्जिवन बिमा र दुईले पुर्नबिमा सम्वन्धी कारोबार सञ्चालन गर्दे आएका छन् ।
यि कम्पनीहरुले संकलन गरेको कुल बिमा शुल्क संकलन रकम गत आर्थिक वर्षको भदौ मसान्तको तुलनामा ३४ दशमलव २२ प्रतिशतले बढेर ३४ अर्ब ५३ करोड ४७ लाख २० हजार रुपैयाँ पुगेको छ ।
समितिका अनुसार गत आवको सोही अवधिमा भने बिमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम २५ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमा शुल्क रकम भने ३४ दशमलव १३ प्रतिशतले बढेर छ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो रकम चार अर्ब ७७ करोड रुपैयाँ रहेको छ । समितीका अनुसार जीवन बीमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बिमा शुल्क संकलन रकम भने चालु आवको भदौ मसान्तसम्ममा ३४ दशमलव २४ प्रतिशतले बढेर २८ अर्ब १३ करोड ६६ लाख २० हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा जीवन बिमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम २० अर्ब ९६ करोड रुपैयाँ रहेको थियो । समितीका अनुसार चालु आवको भदौ मसान्तसम्ममा कुल निर्जिवन बिमालेखको संख्या भने सात दशमलव ६६ प्रतिशतले बढेर चार लाख ७३ हजार दुई सय ६४ पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो संख्या चार लाख ३९ हजार पाँच सय ८८ रहेको थियो । चालु अवको भदौ मसान्तसम्ममा कुल जीवन बिमा लेखको संख्या भने १० दसमलव ८४ प्रतिशतले बढेर ८७ लाख ९६ हजार ८८ पुगेको छ ।
गत आवको सोही अवधिमा यस्तो संख्या ७९ लाख ३५ हजार पाँच सय ५३ रहेको थियो । समितीका अनुसार चालु आवको भदौ मसान्तसम्ममा जारी भएको कुल जीवन बिमा लेखको संख्यामा ८२ लाख आठ हजार पाँच सय २५ जीवन बीमा लेखको संख्या रहेको छ भने पाँच लाख ८७ हजार पाँच सय ६३ वैदेशिक रोजगार बिमालेखको संख्या रहेको छ ।
गत आवको सोही अवधिमा जीवन बिमालेखको संख्या ७० लाख ८८ हजार पाँच सय सात रहेको थियो भने वैदेशिक रोजगार बिमा लेखको संख्या आठ लाख ४७ हजार ४६ रहेको थियो ।
सोही आधारमा गत आवको तुलनामा चालु आवको भदौ मसान्तसम्मा जीवन बिमा लेखको संख्या १५ दशमलव ८० प्रतिशतले बढे पनि वैदेशिक रोजगार बिमा लेखको संख्या भने ३० दशमलव ६३ प्रतिशतले घटेको छ ।
कोभिड १९ को विश्व महाहारीले विश्व श्रम बजारमा पारेको प्रभाव कै कारण रोजगार कटौती हुँदा वैदेशिक रोजगार बिमा लेखको संख्या पनि पछिल्लो अवधिमा घटेको हो ।

प्रतिक्रिया