‘आन्तरिक उत्पादनले माग धान्न सक्छ’

कोरोना संक्रमणका कारण थलिएको पुष्प व्यवसाय विस्तारै चलायमान हुन थालेको छ । संक्रमण फैलिएर ठप्प रहेको पुष्प व्यवसाय संक्रमणदर कम हुन थालेपछि चलायमान हुन थालेको हो । संक्रमण कम भएर व्यवसाय सञ्चालनमा आए पनि संक्रमणको जोखिम कायमै रहँदा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण नरहेको व्यवसायीको गुनासो छ । फूललाई नेपालमा आधारभूत आवश्यकताभन्दा बढी देव तथा पितृ कार्य र सजावटका लागि प्रयोग गरिन्छ । आर्थिक वर्ष ०७५/७६ मा करिब पौने तीन अर्बको वार्षिक कारोबार गरेको पुष्प व्यवसायले कोरोनाका कारण आर्थिक वर्ष ०७६/७७ मा भने जम्मा एक अर्ब ६५ करोडमा चित्त बुझाउनुपर्यो । यस वर्षको भने तथ्यांक कलेक्सन गर्न बाँकी छ । यसै विषयमा हामीले फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, अध्यक्ष तामाङसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :
कोरोना संक्रमणदर कम हुँदै जान थालेपछि हाल सबै क्षेत्र विस्तारै चलायमान हुन थालेका छन् । पुष्प व्यवसायको अवस्था के छ ?
पुष्प व्यवसायले पनि विस्तारै गति लिइराखेको छ । अझै सामान्य अवस्थामा त फर्किसकेको छैन । तैपनि अब नेपालीका ठूला चाड दसैँ-तिहार आउँदै गरेका कारण अहिले नर्सरीको क्षेत्रमा अलिकति व्यापार बढी हुने सिजन हो । तर सामान्य अवस्थाको जस्तो व्यापार भएको छैन । कोभिडभन्दा अगाडिको हिसाबले व्यापार कमै छ । तर पनि सुधारोन्मुख अवस्था नै छ ।
पुष्प व्यवासायमा कोरोनाले कतिको असर गर्यो ?
कृषिको क्षेत्रमा सबैभन्दा बढी प्रभावित भएको क्षेत्र भनेकै पुष्प व्यवसाय हो । कृषिको क्षेत्रमा अन्य तरकारी बालीहरूमा कोभिड भए पनि तरकारी त खानुपर्यो । केही न केही उहाँहरूको व्यापार भयो तर फूल त अनिवार्य प्रयोगमा आउने वस्तु होइन । होटेलदेखि लिएर पार्टी प्यालेस, सभा सम्मेलन, धार्मिक स्थलहरू सबै बन्द भएपछि पुष्प व्यवसाय पूर्ण रुपमा ध्वस्त भयो । कतिपय फार्महरू अहिले बन्द भइसकेको अवस्था छ भने कतिपय बन्द हुने अवस्थामा पुगिसकेका छन् । नयाँ थप लगानी गर्नलाई अहिले व्यवसायी उत्साही छैनन् । कोभिडको प्रकोप कहिलेसम्म रहने भन्ने एकिन छैन । त्यस कारण पनि नयाँ लगानी गर्यो भने पनि थप घाटामा जाने भएका कारण थप लगानी पनि छैन । उत्पादन कम छ, व्यापार पनि कम छ ।
यस वर्षको चाडबाडमा अनुमानित कतिजति फूल खपत हुन्छ होला ?
अहिले ठ्याक्कै हामीले तिहारका लागि लगाएको बिरुवाहरूको तथ्यांक संकलन गरिसकेका छैनौं । यस वर्ष वर्षा अलि बढी भएका कारण लगाएका बिरुवाहरू पनि मरेका छन् । अहिले नै उत्पादन ठ्याक्कै यति आउँछ भन्न सक्ने अवस्था छैन । हामी किसानहरूसँग समन्वय गरेर कति बिरुवा लगाएका रहेछौं, कति उत्पादन हुन्छ भन्ने यो दसैँअगाडि नै तथ्यांक संकलन गर्छौ् । डाटा कलेक्सन गरिसकेपछि मात्रै थाहा हुन्छ तिहारका लागि कति माग हुने, हाम्रो आन्तरिक उत्पादनले कति धान्ने र बाहिरबाट कति ल्याउने भन्ने कुराको टुंगो साता-दश दिनमा लगाउँछौं । अहिले सामान्य अवस्थामा भन्ने हो भने दैनिक ५० लाखको हाराहारीमा कारोबार भइरहेको छ ।
हाम्रो आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था छ कि छैन ?
हामी लगभग आन्मनिर्भर जस्तै भइसकेका थियौं । ९९ प्रतिशत जस्तो हामी आन्मनिर्भर भएका थियौं । विशेष चाडपर्वमा २/३ दिनमा माग अलि बढी हुने भएका कारण तिहारको तीन दिनका लागि हामीले अर्डर गर्नुपर्थ्यो । त्यसपछि मुख्यगरी भ्यालेनटाइन डे (प्रणय दिवस) मा अलि चिसो नै हुन्छ । गुलाबको फूलको उत्पादन त्यति राम्रो आइरहेको हुँदैन । त्यसबेला १/२ दिनका लागि अलि बढी १० प्रतिशत जति फूल आयात गरिरहेका थियौं । १० प्रतिशत फूल आयात सधैंभरि कायम रहन्छ । किनभने वर्षभरि एकनाशले फूल उत्पादन गर्ने संरचना छैन हामीसँग । त्यो हिसाबले १० प्रतिशत जति आयात भने सधैं रही रहन्छ । तैपनि हामीले त्यसको साथसाथै निर्यात पनि गरिराखेका छौं । निर्यात पनि गर्ने भएका कारण आन्तरिक मागलाई हामीले धानेका छौं भनेर भन्न मिल्छ ।
नेपालको जुनसुकै ठाउँमा पुष्प व्यवसाय गर्न उपयुक्त छ ?
हावा-पानीअनुसार विभिन्नथरीका फूलहरू हुन्छ । पहाडदेखि लिएर तराईसम्म हुने फूलहरू धेरैथरी हुन्छ । त्यसकारण हावापानीअनुसारको फूल उत्पादन हामी गर्न सक्छौं । अलिकति हाम्रा व्यवसायीहरू सहरमुखी मात्रै भएका कारण र अर्को कुरा उत्पादन गरेर मात्रै भएन । सडकको पहुँच पनि हुनुपर्यो । यो नाशवान् वस्तु हो । तत्कालै बजारमा आइपुग्नुपर्छ । त्यसकारण अलि धेरै टाढा गएर गर्न सकिराखेको अवस्था छैन् । टाढा गएर गर्न हामीलाई कुलिङ स्याम्बरसहित भएको गाडीमा ढुवानी गर्नुपर्ने हुन्छ । त्यस्तो संरचना अहिले हामीसँग छैन । त्यसले गर्दा पुष्प व्यवसाय सहरमुखी नै छ यो व्यवसाय अहिलेसम्म तर, नहुने भन्नेचाहिँ छैन । हिमालदेखि तराईसम्म सबै ठाउँमा पुष्प व्यवसाय गर्न सकिन्छ ।
पुष्प व्यवसायमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण छ कि छैन ?
ठूलो लगानीकर्ताहरू यसमा छैन अहिले । सानो सानो लगानीकर्ताहरूले नै लगानी गरिराखेको छ । यो कोभिड नभइ दिएको भए ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सिर्जना हुँदै गएको थियो । विश्व बजारमा पनि हाम्रो पहुँच बढ्दै गएको थियो । हामीले अलिकति क्वालिटीको प्रोडक्सन निकाल्यो भने हामी विश्व बजारमा र खाडी मुलुकहरूमा निर्यात गर्न सक्ने अवस्थामा पुगिसकेका थियौं । तर कोभिडले गर्दा अहिले ठ्याक्कै लगानीको गर्न सक्ने वातावरण छैन ।
पुष्प व्यवसायलाई व्यावसायिक रुपमा विस्तार गर्न के आवश्यक छ जस्तो लाग्छ यहाँलाई ?
पुष्प व्यवसायलाई व्यावसायिक रुपमा विस्तार गर्न सबैभन्दा ठूलो कुरो त लगानीकै कुरा हो । यो क्षेत्रमा साना किसानहरूले गरेको लगानी मात्रै हो । सरकारी लेबलबाट अहिलेसम्म त्यस्तो ठूलो लगानी भएको छैन । सरकारले त्यस्तो कुनै अनुदानको कार्यक्रमहरू पनि ल्याएको छैन । सानोतिनो लगानीले यो सम्भव हुँदैन । हेर्दाखेरि पुष्प व्यवसाय सामान्य देखिए पनि यसमा लगानी उच्च छ । अन्य तरकारी बालीजस्तो होइन । एउटा सामान्य किसानले पुष्प व्यवसाय गर्न उसले घटीमा पनि ५० लाख लगानी गर्नुपर्ने हुन्छ । त्यसकारण मान्छेले आँखा चिम्लेरै लगानी गर्न सक्ने अवस्था छैन । तर, सरकारी स्तरबाट केही न केही सहुलियत हुने, अनुदानको कार्यक्रमहरू आउने हो भने अरु थप लगानी विस्तार भएर व्यवसाय विस्तार हुने सम्भावना छ । हरेक वर्ष हाम्रो डिमान्ड बढ्दै गइरहेको अवस्थामा कोभिडको कारणले गत दुई वर्षदेखि हाम्रो कारोबार न्यून भइराखेको छ । हामीले आधा कारोबारमा चित्त बुझाउन परेको छ ।
पुष्प व्यवसायमा लगानी गर्नका लागि सरकारलाई घचघच्याउने काम गर्नुभयो कि भएन ?
लगानीका लागि हामीले सरकारलाई घचघच्याउने मात्रै होइन पुष्प प्रवर्द्धन नीति ड्राफ्ट गरेर सरकारलाई पेस गरेका थियौं । उक्त नीति २०६९ सालमा पुष्प प्रवर्द्धन नीति स्वीकृति भएर पनि आयो । त्यसपछि कृषि विकास मन्त्रालयमार्फत हामीले २०७१ देखि २०७४ सम्म नीतिलाई कार्यान्वयनमा पनि ल्यायौं । देश संघीयतामा गइसकेपछि तपाईंहरूको कार्यक्रमहरू पनि प्रदेशतिर जान्छ । तपाईंहरूले प्रदेशतिर समन्वय गर्नुस् भनेर केन्द्रीय सरकारले भन्ने उता प्रदेशमा गयो भने होइन यो त केन्द्रीय नीति यो यसले हामीलाई छुँदैन भनेर प्रदेश पन्छिने त्यो अवस्था भयो । त्यसका लागि कसरत गर्दागर्दै कोभिड फैलियो । त्यसकारण यस वर्ष सबैभन्दा पहिला हामी तीनै तहको सरकारलाई समेट्ने गरी र तीनै तहको सरकारले पुष्प व्यवसायलाई समान हिसाबले हेर्ने गरी नीति परिमार्जनमा लाग्छौं । नीति परिमार्जन गरिसकेपछि त सरकारको कर्तव्य हो उसले नीति लागु गरिहाल्छ ।
पुष्प व्यवसायमा अनुमानित कति व्यवसायी आबद्ध छन् ?
हाल देशभर ७ सयभन्दा बढी कृषक यस क्षेत्रमा आबद्ध छन् । देशभरका ४३ जिल्लामा पुष्प खेती भइरहेको छ । यसमा ६ अर्बभन्दा बढी लगानी भइसकेको छ । झन्डै तीन अर्बको हाराहारीमा हामीले वार्षिक कारोबार गरिरहेका थियौं । तर, कोभिडको कारणले गत वर्ष एक अर्ब ६५ करोडमा हामीले चित्त बुझाउनुपर्यो ।
प्रतिक्रिया