एक्सेलकाे पुँजी वृद्धि योजना यस्ताे !

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले शनिवार (हिजो) सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६-०७७ को वितरण योग्य संचित मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार रुपैयाँको १२ प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुकातर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वगर्ने ३ जना सञ्चालकहरुमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्वाचित गरेको छ ।
बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा १० अर्ब भन्दा बढी रहेको छ भने निक्षेप संकलन ११ अर्ब भन्दा बढि रहेको छ । झापा जिल्लाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४१ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालु आ.व.मा आफ्नो कार्यक्षेत्र भित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोबार सञ्चालन गर्ने उद्देश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।
पुँजी वृद्धिका लागि कम्पनीको गत चौधौ वार्षिक साधारण सभाको निर्णय अनुसार चुक्ता शेयर पूँजी ८१ करोड ११ लाख २१ हजार २ सय २४ पैसाको ३० प्रतिशतका दरले २४ करोड ३३ लाख ३६ हजार तिन सय ६७ पैसाको हकप्रद शेयर निष्काशन मिति असोज २५ गते खुला हुने भएको छ ।
सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलले उद्घाटन गरेको उक्त सभामा स्वागत मन्तव्य सञ्चालक शुष्मा शर्मा वस्तीले र सभामा सहभागीहरुलाई सहभागिताका लागि धन्यवाद मन्तव्य संचालक हेमराज ढकालले गरेका थिए भने कार्यक्रम संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।
उक्त सभामा बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बैंकका वर्तमान गतिविधिहरुको वारेमा मन्तव्य राखेका थिए भने संस्थापक शेयरधनीहरु सुरेश कुमार अग्रवाल र डा. रुपक खनाल तथा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले बैंकको उन्नती तथा प्रगतीका लागि शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया