नयाँ ब्रोकर थप्नुपर्ने नेपाल इन्भेष्टर्स फोरमको माग
वाणिज्य बैंकको सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिइनुपर्छ

शेयर धितो कर्जाको सीमा खारेज हुनुपर्छ
काठमाडौं । नेपालको पूँजीबजारमा ८ खर्बभन्दा बढी गुमिसक्दा पनि सरकार मौन रहेको नेपाल इन्भेष्टर्स फोरमले आरोप लगाएको छ । उसले निरन्तर घटिरहेको पूँजीबजार र त्यसले आम लगानीकर्ताहरुमा परेको असरबाट करिब ४४ लाख लगानीकर्ता मारमा परेको जिकीर गरेको छ ।
सोमबार फोरमले विज्ञप्ती जारी गर्दै विगतमा जिम्मेवार निकायहरुको अदूरदर्शी नीतिका कारण आज मुलुकले गम्भीर रुपमा लगानीयोग्य पूँजी तथा तरलताको अभाव खेपिरहेको बताएको छ । विज्ञप्तीमा गलत नीतिको कारणले पूँजी बजारमा आपूर्ति बढ्न गएको तर आपूर्तिकै कारणले बजार घटबढ नभई जिम्मेवार निकायहरुको पूँजीबजारप्रति हेर्ने दृष्टिकोण र कमजोर प्रविधि, पूर्वाधार तथा लगानीकर्तामैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख कारण भएको भनिएको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले ५ बूँदे माग राख्दै देशलाई समृद्ध बनाउन र शेयर बजारप्रति जनताको आकर्षण बढाउनका निम्ति तथा लगानी सुरक्षाको आभाष दिलाई शेयर बजारको विश्वसनीयता बढाउन यथाशीघ्र आफ्ना मागहरुको सम्बोधन हुनुपर्ने जनाएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जालाई सीमा तोकेर लगानी गर्ने वातावरणमा निरुत्साहित गरेकाले उक्त नियम खारेजीको माग फोरमले गरेको छ । त्यस्तै नयाँ ब्रोकर थप्ने, वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरमार्फत हुने मार्जिन कर्जा उपलब्ध गराउने, महंगो ब्रोकर कमिसन समायोजन गर्ने तथा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा योग्य व्यक्ति अविलम्ब नियुक्तिको माग पनि गरेको छ ।

प्रतिक्रिया