आइसीसी विश्वकप लिग २ : ओमानसँग नेपाल पराजित
काठमाडौँ । आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान विरुद्धको खेलमा घरेलु टोली नेपाल १८ रनले पराजित भएको छ । ओमानले दिएको १ सय ९८ रनको मध्य लक्ष्य पछ्याएको नेपालले ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि शरद भेषवाकरले ५५, दीपेन्द्र सिंह ऐरीले ३६, सन्दिप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन बनाए । यस्तै ओपनर पारस खड्काले ३, कप्तान ज्ञानेन्द्र मल्लले १, सुशन भारी, अविनाश बोहराले ८–८ र आरिफ शेखले ६ रन बनाए । ओमानविरुद्ध रोहितकुमार पौडेल र करन केसीले भने खाता खोल्न सकेनन् ।
बलिङमा ओमान टीमका कप्तान जीशान मक्सूदले ३, कलीमुल्लाह, बिलाल खानले २–२, मोहम्मद नदीम, खावर अलि, अकिब इलियास र ले एक–एक विकेट लिए । यसअघि कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो । उसका लागि मोहम्मद नदीमले अर्धशतक बनाए । उनले ९६ बलमा ५ चौका र २ छक्काको मद्दतमा अविजित ६९ रनको योगदान दिए ।
यस्तै सन्दीप गौडले ३३, नसीम खुशीले २८, कप्तान जीशान मक्सूदले २०, अकब इलियासले २० रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् । बलिङमा नेपाली टीमका करन केसीले ४, सुशन भारीले ३ र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए । जारी प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकाविरुद्ध खेल्ने छ ।
प्रतिक्रिया