बिहीबार, वैशाख ११, २०८२

सिंगापुरले हटायो नेपालमाथिको यात्रा प्रतिबन्ध, नयाँ ट्राभल एड्भाइजरी जारी

नेपालखोज २०७८ कार्तिक ७ गते १५:३९

काठमाडौं । कोभिडको महामारी बढेपछि सिंगापुर सरकारले नेपालसहितका देशका यात्रुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

सिंगापुर सरकारले जारी गरेको नयाँ ट्राभल एड्भाइजरीअनुसार अब सिंगापुरको यात्रा गर्न चाहने नेपालीले ठूलो राहत प्राप्त गर्नेछन् । हजारौं नेपाली सिंगापुर प्रहरीलगायत त्यहाँका विविध क्षेत्रमा कार्यरत छन् । सिंगापुरको पर्यटकीय तथा व्यावसायिक यात्रा गर्ने नेपालीहरु पनि प्रशस्तै छन् । सिंगापुर काठमाडौंसँग सोझो हवाई सम्पर्क भएको र नेपालीहरुसँग प्रत्यक्ष जोडिएको मुलुक भएकाले यो खबरले धेरैको कामको बाधा फुकाउने अपेक्षा गरिएको छ ।

सिंगापुरको यात्रा प्रतिबन्ध फुकुवा हुने मुलुकमा नेपालसहित भारत, बंगलादेश, म्यानमार, पाकिस्तान तथा श्रीलंका छन् । यद्यपि यसका लागि केही सर्त भने पूरा गर्नुपर्नेछ ।

सिंगापुरको स्वास्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यी छ दक्षिण एसियाई देशमा कोभिड- १९ को स्थितिको समीक्षापछि यो निर्णय लिइएको हो । सिंगापुरका स्वास्थ्यमन्त्री ओङ ये कुंगले यी देशमा कोरोना महामारीको स्थिति केही समययता स्थिर रहेको बताएका छन् ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयको दिशानिर्देशअनुसार सिंगापुर प्रस्थान गर्न चाहने यात्रीले २६ अक्टोबर राति ११.५९ बजेदेखि प्रवेश पाउनेछन् । मन्त्रालयले यसका लागि यात्रीले केही नियमको कडाइसाथ पालन गर्नुपर्ने पनि बताएको छ ।

सिंगापुरले यसअघि इन्डोनेसिया, मलेसिया, भियतनाम र संयुक्त अरब इमिरेटसहित १५ देशका कोरोनाविरुद्धको पूर्ण खोप लगाएका यात्रीलाई मात्र प्रवेश अनुमति प्रदान गरेको थियो । सिंगापुरमा गएको शुक्रबारसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणका कुल एक लाख ६५ हजार ६६३ बिरामी देखापरेका छन् भने त्यसमध्ये २९४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया