बिहीबार, वैशाख ११, २०८२

बिमा कम्पनीहरुको कुल बिमा शुल्क संकलन ४७ अर्ब ८४ करोड

नेपालखोज २०७८ कार्तिक ८ गते १०:३५

काठमाडौं । कुल बिमा शुल्क संकलन रकममा २० दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । बिमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अनुसार नेपालमा हाल १९ ले जीवन बिमा, २०ले निर्जिवन बिमा र २ ले पुर्नबिमा सम्बन्धी कारोबार सन्चालन गर्दे आएका छन् ।

यीकम्पनीले संकलन गरेको कुल बिमा शुल्क संकलन रकम गत आर्थिक वर्षको असोज मसान्तको तुलनामा चालु आवको असोज मसान्तमा २० दशमलव ११ प्रतिशतले बढेर ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

समितिका अनुसार गत आवको सोही अवधिमा भने बिमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम ३९ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

चालुु आवको असोज मसान्तसम्ममा निर्जिवन बिमा कम्पनीहरुले मात्र संकलन गरेको कुल बीमा शुल्क रकम भने २७ दशमलव ८८ प्रतिशतले बढेर ९ अर्ब ६९ करोड ३४ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो रकम ७ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

समितिका अनुसार जीवन बिमा कम्पनीहरुले मात्र संकलन गरेको कुुल बिमा शुल्क संकलन रकम भने चालु आवको असोज मसान्तसम्ममा १८ दशमलव २८ प्रतिशतले बढेर ३८ अर्ब १८ करोड छ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले संकलन गरेको यस्तो रकम ३२ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । समितिका अनुसार चालु आवको असोज मसान्तसम्ममा कुल निर्जिवन बिमालेखको संख्या भने शुन्य दशमलव १९ प्रतिशतले घटेर ७ लाख ३० हजार नौ सय ९७ पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो संख्या सात लाख ३२ हजार तीन सय ५९ रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुुल जीवन बिमा लेखको संख्या भने १४ दशमलव ५० प्रतिशतले बढेर ९० लाख नौ हजार दुई सय ७७ पुगेको छ ।

गत आवको सोही अवधिमा यस्तो संख्या ७८ लाख ६८ हजार पाँच सय चार रहेको थियो । समितिका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा जारी भएको कुल जीवन बिमा लेखको संख्यामा ८४ लाख ६१ हजार छ सय ७६ रहेको छ ।

यसमा पाँच लाख ४७ हजार छ सय एक भने वैदेशिक रोजगार बिमालेखको संख्या रहेको छ । गत आवको सोही अवधिमा जीवन बिमालेखको संख्या ७० लाख २९ हजार एक सय ७४ रहेको थियो भने वैदेशिक रोजगार बीमा लेखको संख्या ८ लाख ३९ हजार तीन सय ३० रहेको थियो ।

सोही आधारमा गत आवको तुलनामा चालु आवको असोज मसान्तसम्मा जीवन बिमा लेखको संख्या २० दशमलव ३८ प्रतिशतले बढे पनि वैदेशिक रोजगार बिमा लेखको संख्या भने ३४ दशमलव ७६ प्रतिशतले घटेको छ ।

कोभिड १९ को विश्व महाहारीले विश्व श्रम बजारमा पारेको प्रभाव कै कारण रोजगार कटौती हुँदा वैदेशिक रोजगार बिमा लेखको संख्या पनि पछिल्लो अवधिमा घटेको हो ।

प्रतिक्रिया