‘तिहार विशेष लाग्छ’
‘भूमिका फरक भएको छ, चाडपर्वको महत्त्व कम भएको छैन’

काठमाडौं । तिहारमा गत वर्ष त मेरो दाइ नेपालमा हुनुहुन्थेन । विदेशमा हुनुहुन्थ्यो । दुई वर्षअघि हामीले टीका लगाएका थियौं । लास्ट इयर आउनु भएन ।
अहिले आउनुभएको छ । हामी दसैंचाहिँ गाउँमा गएर मनाउँछौं । तिहारचाहिँ सधैं काठमाडौंमै मनाउँछौं । बाँकी मेरो पनि त्यही नै हो । आमनेपाली दिदीबहिनीहरुले जसरी मनाउनुहुन्छ, मेरो पनि त्यही नै हो त्यसैगरी सामान्य तरिकाले मनाउँछु ।
तिहारका लागि घर साफसफाइ, यताउता अब घरतिरै लागिन्छ । तिहारमा विशेष गरी त्यही हो दाजुभाइ दिदीबहिनीबीच माया त भइ नै हाल्छ । तर दाजुभाइ दिदीबहिनीबीच आत्मियता बढाउने, दाजुभाइ दिदीबहिनीबीच एउटा बन्डलाई तिहारले अझै विशेष गराइदिन्छ । त्यसका साथै हरेकका घरघरमा जताततै झिलिमिली हुन्छ ।
तिहारकै लागि भनेर घरलाई विशेषगरी सरसफाइ बनाएर चट्ट पारिन्छ । लक्ष्मी भित्र्याउँछौं । त्यो पनि विशेष नै लाग्छ । त्यसैमाथि बच्चादेखि ठूलासम्म सबैजना देउसी भैलो खेल्न आउनुहुन्छ ।
रमाइलो गर्ने नाचगान गर्ने, नाङलोभरी चट्ट मिलाएर दिएको कति रमाइलो लाग्छ । पहिला पहिला त देउसी भैलो खेल्न पनि गइन्थ्यो । तर अहिले कम भएको छ । एक त कोभिड संक्रमणको जोखिमले पनि कम भएको हो । मलाई चाडहरुमा सबैभन्दा बढी मन पर्ने नै तिहार हो । हुन त सबै चाडपर्वहरुको आ–आफ्नै महत्त्व छ । र पनि तिहार मलाई विशेष लाग्छ ।
तिहार आफ्नो परिवारभित्रै रहेर मनाउँने चाड हो । अलिकति भिडभाड हुने भनेको देउसी भैलोमा हो । धेरै जमघट गरी खेलिने देउसी भैलो खेल्दा सतर्कता त अपनाउँनै पर्छ । हुन त देउसी भैलो खेल्दा टाढा भएर खेल्न त सम्भव हुँदैन तै पनि जहाँसम्म कोसिस गर्नुपर्छ । खोप लगाए पनि कोभिडको जोखिम अझै पनि छ ।
खोप लगाएका व्यक्ति नै संक्रमित हुन थाल्नु भएको छ । त्यसैले पनि दसैँ जसरी परिवारमै सीमित भएर मनाइयो तिहार पनि जहाँसम्म परिवारमै सीमित भएर, सतर्कता अपनाएर मनाउँदा उपयुक्त हुन्छ होला । हामीले आफ्नो स्वास्थ्यको ख्याल गर्न पनि छोड्न भएन र आफ्ना चाडपर्वहरुलाई मनाउन पनि छोड्न भएन । त्यही हो सतर्कता अपनाएर मनाउनु प¥यो सबैले । चाडपर्व बाल्यकालमा अलि धेरै नै रमाइलो लाग्ने रहेछ । सानो हुँदा दसैँ तिहार भनेपछि हामीलाई असाध्यै रमाइलो लाग्थ्यो । यो उमेरले फरक पार्दो रहेछ ।
जति ठूलो हुँदै गयो । जिम्मेवारी बढ्दै जाने । व्यवहारिकता मिलाउनु पर्ने, सबैलाई पुर्याउनु पर्नेलगायत जति घर परिवारको जिम्मेवारीमा डुब्दै जान्छौं त्यति नै चाडपर्वको रमाइलो पनि कम कम लाग्ने रहेछ । अहिले पनि बच्चाहरुमा त त्यत्ति नै खुसी देखिन्छ, जुन हाम्रो पालामा दसैँ तिहार मनाउँदा हुन्थ्यो । मान्छे स्टेप बाइ स्टेप व्यवहारमा फस्दै गएको हुन्छ ।
त्यसले गर्दा हामीलाई अलि कम रमाइलो लागेको हुन सक्छ । नत्र चाडपर्वको रौनकता त अहिले पनि उस्तै छ । आफ्नो संस्कृति, चाडपर्वलाई हामीले कम मान्ने हुँदैन ।
पहिला पनि दसैँ तिहार आयोभन्दा त्यति नै खुसी लाग्थ्यो अहिले पनि त्यति नै खुसी लाग्छ । अहिले पनि दसैँ तिहार आयो भन्ने बित्तिकै लाखौं मान्छे काठमाडौं छोडेर गाउँ जानु हुन्छ ।
चाडपर्वमा काठमाडौं खाली हुन्छ । यदि हाम्रो चाडपर्वको महत्त्व, विशेषता कम हुँदै गएको हुन्थ्यो भने त काठमाडौं किन खाली हुन्थ्यो । किन विदेशबाट मान्छे आइरहन्थे ।
अहिले पनि हामीले लक्ष्मी पूजा गर्न छोडेका छैनौं । हामीले टीका लगाउन छाडेका छैनाैं । देउसी भैलो खेल्न छाडेका छैनाैं । गर्नेले त गरी रहनुभएको छ नि ।
भूमिका मात्रै फरक भएको छ । पहिला त्यो चिज हामीले गथ्र्यौ भने अहिले हामीभन्दा अलिकति सानो उमेरकाले गर्छन फरक त्यति मात्रै हो ।
(नेपाली चलचित्रकी नायिका रेजिना उप्रेतीसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया