२३ अंकले नेप्से बढ्दा ६ अर्ब ७ करोडको काराेबार

काठमाडौं । अघिल्लो दिन १७ दशमलव ७५ अंकले घटेको नेप्से पुन बढेको छ । नेप्से आज मंगलबार २३ दशमलव ७६ अंकले बढेर २८ सय ४३ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८४ अंकले बढेर पाँच सय ३१ दशमलव ४२ अंकमा पुगेको छ ।
दुई सय ३० वटा कम्पनीहरुको ५९ हजार आठ सय ८१ पटकको कारोबारमा ९९ लाख ७७ हजार चार सय ८३ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम छ अर्ब सात करोड ३७ लाख १६ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ । १३ वटा समूहको कारोबार भएकोमा आज तीनवटा समूहको सूचक घटेर १० वटा समूहको सूचक बढेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २३ अंकले घटेर १८ सय ९४ दशमलव ८० अंकमा झर्दा ट्रेडिङ र लगानी समूहको सूचक पनि घटेका छन् ।
यीबाहेक विकास बैंक समूहको सूचक भने एक सय ९१ दशमलव ३३ अंकले बढेर पाँच हजार छ सय ५६ दशमलव ८५ अंकमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ५७ दशमलव ७३ अंकले बढेर १३ हजार एक सय ९८ दशमलव ६० अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ५९ दशमलव ८७ अंकले बढेर १५ हजार नौ सय ५६ दशमलव ५६ अंकमा चढेकोमा जलविद्युत, फाइनान्स, लघुवित्त, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि बढेका छन् ।
आज साहास ऊर्जाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर पाँच सय ३९ रुपैयाँ ३० पैसामा कारोबार हुँदा विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य दुई दशमलव ९५ प्रतिशतले घटेर ५५ सय ९० रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय ३० रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ९७ लाख २३ हजार चार सय १५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया