आइतबार, वैशाख ७, २०८२

कसको योजना कस्तो ?

मीना साउँद २०७८ कार्तिक १८ गते १७:४२

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँपछिको दोस्रो ठुलो चाडका रुपमा लिइन्छ, तिहारलाई । यतिबेला तिहारको रौनक गाउँ सहरमा सुरु भइसकेको छ । झिलिमिली बत्ती, मखमली, सयपत्री फूलहरु, बजारमा किनमेल गर्नेदेखि लिएर तिहार मनाउन जाने आउनेको चहलपहलले रौनक बढाएको छ ।

यद्यपि कोरोना संक्रमण जोखिमका कारण अन्य वर्षको तुलनामा रौनक कम भए पनि बजारमा तिहारको सामान किन्नेको भिड, राति घर–घरमा बालिएका झिलिमिली बत्ती साँच्चिकै तिहारको आभाष गराएको छ ।

तिहारको आफ्नै छुट्टै धार्मिक तथा सामाजिक महत्त्व छ । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहारमा लक्ष्मीको पूजा गर्ने, देउसीभैलोमा रमाउनेदेखि दिदीबहिनीसँग टीका थाप्नेसमेत गरिन्छ । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वका रुपमा चिनिने तिहारमा झिलिमिली बत्तिले थप रौनक बढाएको हुन्छ ।

तिहारमा प्रत्येकका घरघरमा झिलिमिली बत्ती बालिन्छ । घरमा झिलिमिली बत्ती, सहरमा धेरै थरीका फूल, मिठाई र मसलाले सिँगारिएका हुन्छन् । देउसी–भैलो तिहारको अर्को रमाइलो पक्ष हो । वर्षमा एक–पटक मात्रै आउने तिहारमा वर्षभरिको कामको समीक्षा गर्ने, साथीभाइ जमघट भई रमाइलो गर्ने पनि गरिन्छ ।

दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वका रुपमा मनाइने तिहारमा हरेक हिन्दु नेपालीको आ–आफ्नो योजना हुन्छ । सधै अरुलाई मनोरञ्जन दिलाउनमा व्यस्त रहने कलाकारहरुको पनि तिहार मनाउने सबैको आ–आफ्नै योजना छन् । कुन कलाकारको तिहार मनाउने कस्तो योजना छ भनेर नेपालखोजले जान्ने प्रयास गरेको छ ।

कलाकार तथा निर्देशक दीपाश्री निरौला

यस वर्षको तिहारमा लक्ष्मी पूजा काठमाडौंमा गरेर भाइटीका मनाउन विराटनगर जान्छु । विराटनगरमै भाइहरुलाई टीका लगाएर रमाइलो गर्छु । मलाई तिहारको झिलिमिली बत्ती, भाइहरुलाई टीका लगाउन, देउसी भैलो खेलेको हेर्न एकदमै रमाइलो लाग्छ । घर–घरमा भैलो खेल्न आएकाहरुसँगै म पनि भैलो खेल्छु ।

तिहारको दिन बनाएको सेलरोटी भोलिपल्ट चियामा चोबेर खानुको मज्जा नै बेग्लै हुने क्या । समग्रमा तिहार मलाई एकदमै मनपर्ने चाड हो । यद्यपि कोरोनाको जोखिम अझै पनि छ । सबैजनाले आ–आफ्नो ठाउँमा सजग भएर मनाउनुहोला ।

गायक राजु परियार

यस वर्षको तिहार काठमाडौंमै मनाइन्छ । गाउँ गइन्न हो । कोभिड संक्रमणको जोखिम धेरै छ । परिवार अनि साथीभाइमा सीमित भएर मनाइन्छ, यस वर्षको तिहार पनि । यस वर्ष मैले आदरर्णिय दिदी बिमा कुमारी दुराबाट टीका थापेर तिहार मनाउँछु । समग्रमा यस पटक पनि सामान्य रुपले नै मनाउने योजना छ ।

गायिका तथा सांसद कोमल वली

कोमल वली सञ्चार क्षेत्रमा सुनिने पुरानो नाम हो । रेडियो नेपालमा उनले बाचन गरेको समाचार नसुनेका नेपाली विरलै भेटिएलान् । रेडियो नेपालमा समाचार बाचन गर्ने वलीको स्वर प्राय नेपालीको मन मस्तिष्कमा ताजा छ । कहिले नदेखेको अनि नभेटेको व्यक्तिले पनि उनको आवाजले उनलाई प्रष्टै चिन्न सक्छन् ।

उनको उद्घोषण गर्ने शैलीको सबै ठाउँमा चर्चा हुन्छ । त्यसैले त हरेक मेला महोत्सवमा उद्घोषणका लागि उनको नाम पहिलो नम्बरमा आउँछ । सञ्चार क्षेत्र हुँदै गायनदेखि लिएर हाल सांसद् रहेको वलीको यस वर्ष तिहार भने छैन् । ठूलाबुबाको बुहारीको देहान्त भएकाले यस वर्ष उनले तिहार मनाउने छैनन् ।

सदाबहार नायक भुवन केसी

आफ्नो अभिनयको जादुले सबै नेपालीको मनमा राज गर्ने नायक हुन् भुवन केसी । सुहाउँदिलो जिउडाल, औसत उचाइ, मिलेका जुँगा, हँसमुख चेहराका साथ उनको मोहित पार्ने अभिनयको हरकोही नेपाली दिवाना छ । आफ्नो अभिनयको जादुले सदाबहार नायकको उपाधी पाएका नायक केसी पछिल्लो समय भने अभिनयभन्दा निर्देशनतर्फ व्यस्त छन् ।

उनले निर्देशन गरेका सबै चलचित्र हालसम्म राम्रै व्यापार गर्न सफल भएका छन् । सम्झना, कुसुमे रुमाल, कोसेली, चिनो, दुई थोपा आँसुजस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेका केसीको अभिनयको जादुबाट अहिलेसम्म पनि नेपाली दर्शक मुक्त हुन सकेका छैनन् । उनले अभिनयमा पाएको दर्शकको माया अहिले उनका छोरा अनमोलले पनि उत्तिकै पाइरहेका छन् ।

तिनै सदाबहार नायक भुवन केसीसँग हामीले तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका थियौं । मुस्कुराउँदै उनको जवाफ आयो, ‘तिहार भनेपछि हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड हो । र यसको महत्त्व पनि त्यतिकै छ । आम नेपाललीहरुले जसरी तिहार मनाउँदै छन् मैले पनि त्यसैगरी मनाउँछु । काठमाडौंमा बसेर यसपालीको तिहार मनाउँछु ।’

नायिका रेजिना उप्रेती

नायिका रेजिना उप्रेतीले यस वर्षको तिहार काठमाडौंमै बसेर मनाउँदै छिन् । हरेक दसैँमा गाउँ र तिहार काठमाडौंमै मनाइँदै आएको उनले बताएकी छन् ।

गत वर्ष दाजु देश बाहिर रहेकाले टीका लगाउन नपाएको बताउँदै उनले भनिन्, ‘यस वर्ष त दाजु आउनु भएको छ । दुई वर्ष अघि दाजुलाई टीका लगाएको थिएँ । गत वर्ष पाइएन अब यस वर्ष लगाउँछु । धेरै खुसी छु । बाँकी त आम नेपालीहरुले जसरी तिहार मनाउँछन् आफूले पनि त्यसैगरी सामान्य तरिकाले मनाउने उनले बताइन् ।

दाजुभाइ दिदीबहिनीबीच माया प्रेम जहिले भइरहे पनि तिहारले यो सम्बन्धलाई थप आत्मियता बढाउन मद्दत गरेको उनको बुझाइ छ । उनलाई पनि तिहारको झिलिमिली बत्ति, लक्ष्मी पूजा, दाजुभाइलाई टीका लगाउन अनि देउसी भैलो नै खेलेको मनपर्छ ।

गायक सुनील गिरी

गायक सुनील गिरीले पनि यस वर्षको तिहार काठमाडौंमै मनाउने भएका छन् । गायक गिरीका दिदीबहिनी छैनन् । जसका कारण उनलाई तिहारमा गाउँ जान मन लाग्दैन । र, कामको चाप पनि रहेकाले गाउँ नगई काठमाडौंमै सामान्य तरिकाले तिहार मनाउने उनको योजना छ । सानोमा भाइटीकाका लागि दिदी बहिनीले तयार गरेको भाइमसला चोरेर खान उनलाई निकै रमाइलो लाग्थ्यो ।

अहिले भने साथीभाइ जमघट भइ रमाइलो गर्न नै मन पराउँछन् । अहिले धर्म विभाजन भइ नयाँ–नयाँ संस्कृृति भित्रिएकाले पहिलेभन्दा हाम्रा चाडपर्वको महत्त्व केही कम भएको महसुस उनलाई भएको छ । जुन रौनकता चाडपर्व आउँदा पहिला हुन्थ्यो त्यो रौनकता अहिले नपाएको उनको बुझाइ छ ।

अहिले कोभिड संक्रमणको जोखिम भएका कारण पनि महत्त्व केही कम भएको हो कि जस्तो भएको पनि उनले बताए । अहिले पनि जोखिम कायमै रहेकाले संयमता अपनाएर तिहार मनाउन उनको सुझाव छ ।

गायिका मेलिना राई

गायिका मेलिना राईले पनि यस वर्षको तिहार काठमाडौंमै मनाउने भएकी छन् । स–परिवार काठमाडौंमै सामान्य तरिकाले तिहार मनाउने उनको योजना छ । दसैँमा कार्यक्रममा व्यस्त रहेकी गायिका राईको तिहारमा भने कतै जाने कार्यक्रम छैन । यस वर्ष तिहारमा घर सजाउने, देउसी भैलो हेरेर परिवारमै रमाइलो गर्दै छिन् गायिका राई ।

चाडपर्व भने’सी हुरुक्कै हुने मेलिनालाई सानो छँदा तिहारमा देउसी भैलो खेल्न एकदमै मन पर्थ्यो तर अहिले घर सजावट गर्न, देउसी भैलो खेलेको हेर्न रमाइलो लाग्ने गर्छ ।

गायिका मेलिना राईलाई पनि यो जातअनुसार यो पर्व त्यो पर्व भन्ने गर्नाले पछिल्लो समय चाडपर्वको महत्त्व केही कम भएको हो भन्ने महसुुस हुन थालेको छ ।

जुनसुकै धर्म वा जातिको पर्वलाई हामी सबै नेपाली हो, यी सबै हाम्रा पर्व हुन् भन्ने हिसाबले कुनै भेदभाव नगरी हरेकले हरेक पर्व आफ्नै सम्झेर मनाउनु पर्ने उनको भनाइ छ । साथै गायिका राईले यतिबेला कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सतर्कता अपनाएर तिहार मनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया