बिहीबार, वैशाख ११, २०८२

कन्हैयालाई ‘डायसपोरा संगीत सम्मान’ अवार्ड (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक १७ गते ११:३५

काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार कन्हैयासिंह परियारले ‘डायसपोरा संगीत सम्मान’ हात पारेका छन् । एनपी मिडियाले उनलाई राजधानीमा आयोजित कार्यक्रममा ‘डायसपोरा संगीत सम्मान’ हस्तान्तरण गरेको छ ।

एएएनपी मिडियाले गायक तथा संगीतकार कन्हैयालाई देश तथा विदेशमा नेपाली गीत-संगीतमा लामो समयदेखि योगदान पुर्‍याएको भन्दै ‘डायसपोरा संगीत सम्मान’ प्रदान गरेको हो । ‘सम्मानित हुन पाउँदा धेरै गर्व महसुस गरेको छु,’ सम्मानपछि कन्हैयाले भनेका छन् । उनले सम्मानका लागि आयोजक तथा आफ्ना शुभचिन्तकमा आभारसमेत व्यक्त गरेका छन् ।

‘नेपाली कला क्षेत्रका हस्तीहरुको विशेष उपस्थितिमा मलाई सम्मानित गरिएकामा, म नतमस्तक भएको छु, हार्दिक आभार सदाबहार नायक भुवन केसी दाजु, सरोज खनाल दाजु, मुकुन्द श्रेष्ठ दाजु र गायक तथा पूर्वमन्त्री रामवीर मानन्धरलगायत सम्पूर्णमा..,’ उनले भनेका छन् ।

नेपालगन्जको घरबारी टोलमा जन्मिएका लोकप्रिय आधुनिक गायक,संगीतकार कन्हैयाका नेपालगन्ज बजारैमा, तिम्रो साथ, अपेक्षा, पिरतिको फूल, आलाप (तिम्ले भुल्न सके पनि), आलाप-२ (मन हुनेको माया), आलाप-३ (वा रे वा) एल्बम चर्चित छन् । २०५५ सालमा रेडियो नेपालद्वारा लिइएको आधुनिक स्वर परीक्षामा उत्तीर्ण उनी २०४७ देखि २०५२ सालसम्म क्रियाशील रहेर प्रगतिशील गीत-संगीतको क्षेत्रमा देशव्यापी रुपमा सामना परिवारको अभियानमा आबद्धसमेत भएका थिए ।

उनले करिब ३०० को संख्यामा, आधुनिक, चलचित्र, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोक पप विभिन्न भाषाभाषीहरुका गीतमा आफ्नो कला खन्याएका छन् । कन्हैयाका लोकप्रिय गीतहरुमा तिम्ले भुल्न सके पनि, मन हुनेको माया, मुटुमा पीडा भए पनि, म हु पश्चिमको छोरो, चढेर हेर हिमाल त्यो, धनगढीकी वैंशालु सुन्दरी, आँसुको मूल्य सोध, अलिकति आवाज देऊ मैले गीत गाउँदा, नेपालगन्ज बजारैमा घाम लाग्यो घमाइलोलगायत छन् ।

अहिले अमेरिकामा बसोबास गर्दै आएका कन्हैयाले सर्वोत्कृष्ट आधुनिक गायन पुरुष (म्युजिक खबर म्युजिक अवार्ड- २०७१), सर्वोत्कृष्ट स्वर आधुनिक (नेसनल पावर न्युज म्युजिक अवार्ड २०७३), सर्वोत्कृष्ट गायक आधुनिक संगीत (चौथो नेसनल क्यापिटल म्युजिक अवार्ड २०७४), सर्वोत्कृष्ट गायक, संगीतकार ग्लोबल नेपाली फिल्म म्युजिक अवार्ड २०७४), सर्वोत्कृष्ट गायक पपुलर (सगरमाथा म्युजिक अवार्ड २०७४), युगल गायन जुरी अवार्ड (पावर न्युज म्युजिक अवार्ड-२०७७), सर्वोत्कृष्ट युगल वर्ष गायन (नेसनल क्यपिटल म्युजिक अवार्ड २०७७), नाट्यश्वर म्युजिक अवार्ड २०७६) प्राप्त गरेका छन् ।

No photo description available.

यस्तै उनले मध्यपश्चिम गायक सम्मान सुर्खेत, गौराङ कला संगीत सम्मान मुम्बई भारत, घुसेल संगीत सम्मान ललितपुर, सयपत्री गायक सम्मान लन्डन, एनसीसी एस गायक सम्मान टोरन्टो क्यानडा, एन एन्ड जे संगीत सम्मान न्युयोर्क अमेरिका, दशक गायन संगीत सम्मान नेसनल क्यापिटल अवार्ड, रजत संगीत सम्मान प्राप्त गरेका छन् ।

May be an image of 3 people, including सरोज खनाल and people standing

प्रतिक्रिया