सोमबार, वैशाख ८, २०८२

कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट

दिनेश अधिकारी २०७८ कार्तिक २० गते ९:०१

नेपाली साहित्यका गम्भीर पाठकका लागि रमेश गोर्खाली एउटा सुपरचित नाम हो। कविता, कथा,उपन्यास र समालोचना विधामा समानरुपमा कलम चलाए पनि समालोचककै रुपमा उनको पहिलो परिचय बनेको अनुभव मलाई हुन्छ।

वि. सं. २०२२सालबाट रमेश गोर्खालीका रचना प्रकाशनमा आउन थालेका हुन।मुक आत्माको अन्तर्ध्वनि (काव्य – २०२९), तिमी हाँसीदेउ: म गीत गाउँछु( कथासङ्ग्रह- २०३०), पत्थर ( उपन्यास – २०३१), रमेश गोर्खालीका कथाहरु (कथासङ्ग्रह- २०३३), पृथ्वीवादको मर्म ( निवन्धसङ्ग्रह-२०६०), रचनाको अभिव्यक्ति (समालोचना- २०६०) उनका प्रकाशित मौलिक कृतिहरु हुन। अभिनव, नारायणीका सुसेली, सार्थक समेतका सामयिक सङ्कलन र पत्रिका सम्पादन गरेका गोर्खालीको सम्पादनमा डा. ध्रुवचन्द्र गौतमको कथासङ्ग्रह ” संरक्षक”, नगेन्द्रराज शर्माको कथासङ्ग्रह ” एकान्तका आफन्तहरु”, भीम विरागको कवितासङ्ग्रह ” भीम विरागका कविताहरु”, नवराज रिजालको लघु कथासङ्ग्रह ” अदृश्य पीडा “, विभु अधिकारीको कथासङ्ग्रह ” रोकिदैन लेखिने क्रम” र अमर त्यागीको सूत्र कविता ” अनुभूतिको जुलुस” शीर्षक कृतिहरु पनि प्रकाशनमा आएका छन्।

२०१० साल मंसिरमा मरुहिटी टोल काठमाडौंमा जन्मेका र हाल काठमाडौंमै बसोबास सारेका रमेश गोर्खाली अहिले पनि ” वीरगन्जका रमेश गोर्खाली ” का रुपमा बढी चिनिन्छन्। जीवनको लामो कालखण्ड प्राध्यापन पेशामा बिताएका गोर्खाली २०४० को दशकतिर प्रतीक ( द‌ैनिक) पत्रिकामा पनि आवध्द रहे। खेल पत्रकारिता उनको अभिरुचिको अर्को क्षेत्र हो।

No description available.

उमेर र लेखन दुबै दृष्टिले मभन्दा “जेठा” हुँदाहुँदै पनि रमेश गोर्खाली मेरा साथी हुन्। २०३०को दशकदेखिकै चिनाजानी भए पनि २०४३ सालदेखि मात्रै हामी बीच उठबसको सम्बन्ध बनेको हो।२०४३ सालमा म बारा जिल्लाको जिल्ला न्यायाधिवक्ताको जिम्मेवारी सम्हान पुगें। कलैयामा बस्ने म जस्ताका लागि वीरगन्ज आफैंमा एउटा आकर्षण थियो। त्यसमाथि वीरगंज जाँदा रमेशजीसंग भेट्न पाउनु मेरा लागि अर्को सुखद पक्ष थियो। वीरगन्ज पुगेपिच्छे सकेसम्म माइस्थान नजिकै मीना बजारमा रहेको ” सुन्दर स्टोर ” पस्ने मेरो एक किसिमको कार्य – तालिका नै बनेको थियो । समाजमा आफ्नो सुकिलो छवि बनाउनु भएका रमेशजीका पिताजी सुन्दरबहादुर गोर्खालीलाई चिनाउने “सुन्दर स्टोर” त्यसबेलाको वीरगन्जको बिश्वासिलो एउटा बजार नै थियो भन्दा हुन्छ । पसल र बसाई एउटै घरमा थियो। पसलमा नभेट्दा कोठामै गएर रमेशजीलाई भेट्न पाइन्थ्यो। प्रशिध्दी र मूल सडकमा रहेको कारणले पनि कुनै साहित्यिक मित्रलाई भेट्नुपर्दा “सुन्दर स्टोर” भेटघाटको हाम्रो स्थायी ठेगाना जस्तै थियो। २०४३ साल पुषमा वीरगन्ज पुग्नुभएका कवि केदारमान व्यथितलाई मैले यहीं भेटेको थिएँ। कथाकार प्रेमा शाहसंगको मेरो चिनाजानी पनि सुन्दर स्टोरमै भएको थियो।

रमेशजीको कुरा गर्दैगर्दा म के पनि सम्झन्छु भने २०४५ सालमा राजनीतिशास्त्रको स्नातकोत्तर तहको दोस्रो बर्षको परिक्षा हामीले एकैसाथ दिएका थियौं। परीक्षा- केन्द्र वीरगन्ज थियो। बिहानको समयमा परिक्षा हुने तालिका आइसकेको थियो। सबैभन्दा थोत्रा बस चल्ने रुटको रुपमा परिचित त्यो बेलाको कल‌ैयाबाट परीक्षा दिन त्यही दिन बिहान वीरगन्ज आउँछु भन्नु आफैंमा जोखिम थियो।रमेशजीले त्यो जोखिम नमोल्नका लागि अघिल्ल‌ै दिन वीरगन्ज आइ उहाँको घरमा बस्न मलाई प्रस्ताव दिनु भयो। मैले त्यही गरें। त्यही बसें, त्यही खाएँ। पढाइका बारेमा छलफल हुनु स्वाभाविकै थियो । पहिलो साँझको छलफलपछि नै मैले रमेशजीलाई भने- पढाइका बारेमा अब म तपाईसंग छलफल गर्दिन, म छुट्टै पढ्छु। यसो किन भन्नु पर्‍यो भने बिषयवस्तुमाथि उहाँमा रहेको अपार ज्ञानका कारण एक किसिमले म डराएँ। अहिले पनि सम्झन्छु – असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनका बारेमा छलफल गर्दैगर्दा रमेशजी कुन सम्मेलन कहिले, कहाँ भएको थियो र के कस्ता प्रस्तावहरु पारित भएका थिए मात्र होइन कुन सम्मेलनमा कुन कुन राष्ट्रहरु सहभागी थिए, कुन देशको प्रतिनिधि मण्डलको नेतृत्व कसले गरेको थियो, कुन सम्मेलनमा क- कसले पर्यवेक्षकको हैसियतमा सहभागीता जनाएका थिए भन्ने समेतका यावत विवरण सुनाउनु हुन्थ्यो। यो परिस्थिति भोगेपछि मलाई उहाँका बारेमा चिन्ता थपियो र भनें – एउटै प्रश्नको जवाफ तपाईं तीन घण्टासम्म लेख्न सक्नुहुन्छ। तर हामीले सबै प्रश्नको जवाफ लेख्नु पर्ने हुँदा उत्तर लेख्ने क्रममा समय विभाजनमा सजग हुनु होला!

२०४६ सालमा कलैयाबाट सरुवा भै हिंडपछि, फाट्टफुट्ट भेट हुने सन्दर्भलाई छोड्दा, २०५३/२०५४ सालमा हेटौंडामा फेरि हाम्रो उठबस भयो। त्यसताका रमेशजी हेटौंडाको कलेजमा पढाउनु हुन्थ्यो भने म चाहीँ पुनरावेदन सरकारी वकिल कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्न त्यहाँ पुगेको थिएँ। कहिलेकाहीँ एक्लाएक्लै र धेरैजसो चाँही हामी कवि तथा गीतकार भीम विराग दाइका साथमा गफिन्थ्यौं। भीम दाइको सानिध्यता हामी दुबैका लागि उत्तिकै रुचिकर थियो। यो पटकको उठबस पुगनपुग छ महिना मात्रै भयो।

No description available.

तिगडमको ” त ” र चाकडी / चाप्लुसीको ” च ” पनि नजान्ने रमेशजी गोप्यताको ” ग ” को पनि त्यत्ति धेरै ख्याल राख्नु हुन्न। मैले चिनेको रमेशजीको स्वभाव हो यो। स्वभावकै कुरो गर्दा मलाई त के पनि लाग्दछ भने अत्यन्तै अध्ययन गर्ने र अध्ययन गरेको बिषयलाई सम्झनाको कन्तुरमा सुरक्षित राख्ने अद्भूत क्षमता रमेशजीमा छ। कहिलेकाहीँ त लाग्छ- रमेशजीको जन्म पढ्न…पढ्न…र पढ्नैको लागि भएको हो।

रमेशजीले ” अतिरिक्त अभिलेखको कवितात्मक स्तर” शीर्षकमा मेरा कवितामाथि लेख्नु भएको समालोचना प्रतिष्ठित साहित्यिक पत्रिका “रचना”को २०५८को फागुन- च‌ैत अङ्कमा प्रकाशित छ।

अचेल हामी बीचको भेटघाट पातलिँदै गएको छ। साहित्यिक कार्यक्रमहरुमा यदाकदा भेट हुन्छ। आ-आफ्नै व्यस्तताबाहेक यसरी भेटघाट पातलिनुको अर्को कुनै कारण छैन। फेरि पनि जहिलेजहिले भेट हुन्छ, तहिलेतहिले मेरो मन उज्यालो हुन्छ ।

प्रतिक्रिया