‘जुन गीत सुनेर…’लाई अवार्ड, गायक कन्हैयाले भने- ‘२५ वर्षकै संगीतयात्रामा गर्वको अनुभूति भयाे’

काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार कन्हैयासिंह परियारको ‘जुन गीत सुनेर…’ लाई अवार्ड प्रदान गरिएको छ । उक्त गीतका लागि कन्हैयालाई शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा सगरमाथा म्युजिक प्रालिले सम्मान गरेको हो । यो गीतको रचनाकारसमेत गायक कन्हैया हुन् । गीतका संगीतकार सन्तोष श्रेष्ठ र म्युजिक एरेन्जर अमूल कार्की हुन् । यही गीतबाट संगीतकार श्रेष्ठ र म्युजिक एरेन्जर कार्कीले पनि अवार्ड हात पारेका छन् ।
१६ जना अमर श्रष्टाहरुप्रति समर्पित गीत ‘जुन गीत सुनेर…’ (सर्वोत्कृष्ट आधुनिक गायक-२०७८) कन्हैयालाई अवार्ड प्रदान गरिएको हो । गायक कन्हैयाले अवार्ड जित्दा आफू खुसी मात्र नभई २५ वर्षकै संगीतयात्रामा गर्वको पनि अनुभूति भएको प्रतिक्रिया दिएका छन् ।
केही दिनअघि मात्रै एएएनपी मिडियाले गायक तथा संगीतकार कन्हैयालाई देश तथा विदेशमा नेपाली गीत-संगीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै ‘डायसपोरा संगीत सम्मान’ प्रदान गरेको थियो । गायक तथा संगीतकार कन्हैया विगत २५ वर्षदेखि नेपाली गीत-संगीत क्षेत्रमा सक्रिय छन् ।

नेपालगन्जको घरबारी टोलमा जन्मिएका गायक तथा संगीतकार कन्हैयाका नेपालगन्ज बजारैमा, तिम्रो साथ, अपेक्षा, पिरतिको फूल, आलाप (तिम्ले भुल्न सके पनि), आलाप-२ (मन हुनेको माया), आलाप-३ (वा रे वा) एल्बम चर्चित छन् । २०५५ सालमा रेडियो नेपालद्वारा लिइएको आधुनिक स्वर परीक्षामा उत्तीर्ण उनी २०४७ देखि २०५२ सालसम्म क्रियाशील रहेर प्रगतिशील गीत-संगीतको क्षेत्रमा देशव्यापी रुपमा सामना परिवारको अभियानमा आबद्धसमेत भएका थिए ।
उनले करिब ३०० को संख्यामा, आधुनिक, चलचित्र, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोक पप विभिन्न भाषाभाषीहरुका गीतमा आफ्नो कला खन्याएका छन् । कन्हैयाका लोकप्रिय गीतहरुमा तिम्ले भुल्न सके पनि, मन हुनेको माया, मुटुमा पीडा भए पनि, म हु पश्चिमको छोरो, चढेर हेर हिमाल त्यो, धनगढीकी वैंशालु सुन्दरी, आँसुको मूल्य सोध, अलिकति आवाज देऊ मैले गीत गाउँदा, नेपालगन्ज बजारैमा घाम लाग्यो घमाइलोलगायत छन् ।

अहिले अमेरिकामा बसोबास गर्दै आएका कन्हैयाले सर्वोत्कृष्ट आधुनिक गायन पुरुष (म्युजिक खबर म्युजिक अवार्ड- २०७१), सर्वोत्कृष्ट स्वर आधुनिक (नेसनल पावर न्युज म्युजिक अवार्ड २०७३), सर्वोत्कृष्ट गायक आधुनिक संगीत (चौथो नेसनल क्यापिटल म्युजिक अवार्ड २०७४), सर्वोत्कृष्ट गायक, संगीतकार ग्लोबल नेपाली फिल्म म्युजिक अवार्ड २०७४, सर्वोत्कृष्ट गायक पपुलर (सगरमाथा म्युजिक अवार्ड २०७४), युगल गायन जुरी अवार्ड (पावर न्युज म्युजिक अवार्ड-२०७७), सर्वोत्कृष्ट युगल वर्ष गायन (नेसनल क्यपिटल म्युजिक अवार्ड २०७७), नाट्यश्वर म्युजिक अवार्ड २०७६, पिम नेपाल रजत संगीत सम्मान- २०७७ प्राप्त गरिसकेका छन् ।
हेर्नुहोस् १६ जना अमर श्रष्टाहरुप्रति समर्पित गीत ‘जुन गीत सुनेर…’ को भिडियो :
प्रतिक्रिया