रेस्टुरेन्टको भुइँमै रंगीबिरंगी माछा, कफी पिउँदै ‘डेटिङ’ (तस्बिरसहित)

काठमाडौं । कुनै पनि रेस्टुरेन्टको पहिचान उसले दिने स्वाद, सुविधा, सरसफाइ, व्यवहार लगायतबाट हुने गर्छ । विभिन्न सुविधा भएको ठाउँमा हरदम ग्राहकको भिड पनि लाग्ने गर्छ । आजकल नेपाललगायत विभिन्न देशमा ग्राहकलाई आकर्षित गर्न होटेल तथा रेस्टुरेन्टको संरचना बनाइएको हुन्छ । संसारमा यस्ता रेस्टुरेन्ट तथा होटेलहरू बनाइएका छन्, ती ग्राहकलाई अनौठो तथा राम्रो सुविधा दिएर विश्वमै प्रसिद्ध छन् ।
भियतनाममा एउटा ‘फिस क्याफे’ छ । यो संसारका करोडौं क्याफेमध्येकै अनौठो छ । हो ची मिन्ह सहरमा अवस्थित यस क्याफेको नाम माछाको नामबाट राखिएको छ । तर सत्य यो छ कि, रेस्टुरेन्ट नै माछाको पोखरीझैं छ । गतिला, आकर्षक माछा पालिएका छन् । मानिसहरू कुर्सी तथा सोफामा बसेका बेला खुट्टामा माछा पौडिँदै, सल्बलाउँदै घुम्ने गर्छन् ।
क्याफे मालिक न्गुएन डुओक होआ भन्छन्, ‘म एउटा अद्वितीय अवधारणा सिर्जना गर्न चाहन्थेँ, जुन अरू कुनै ठाउँमा थिएन । म तटीय सहरबाट आएको हुँ, मलाई माछा मनपर्छ र यो नवप्रवर्तन र मेरो शोकलाई जोडेर एउटा व्यवसाय सिर्जना गर्ने राम्रो तरिका हो जस्तो लाग्छ ।’
यस क्याफेको भुइँमा माछा पौडिन सक्नेगरी गहिराइ (२५ सेन्टिमिटर) भएको पानी छ । यस रेस्टुरेन्टको भुइँमा संसारका सानाठूला रंगीबिरंगी आकर्षक माछा पोखरीमा झैं सल्बलाएको देखिन्छ । यस क्याफेमा जम्मा तीनतला छन् । भुइँ तला सामान्य क्याफेजस्तै छ । यस तलामा कफी मात्रै पाइन्छ । तर दोस्रो र तेस्रो तलामा पानीसँगै तैरिरहेका माछासँगै विभिन्न बाक्लै गरी कुर्सी र टेबल राखिएका छन् ।

ग्राहकले क्याफेमा बनाइएको विभिन्न परिकारका स्वाद लिँदै खुट्टातिर सल्बलाइरहेका माछाको अवलोकन गर्छन् । कतिपयले माछालाई खुट्टाले खेलाउँदै कफी पिउँदै, गफ गर्दै मजा लिने गर्छन् ।
अधिकांशले एक हातमा कफी र अर्को हातले माछा खेलाउँदै मजा लिने गर्छन् । सफा पानीमा रहने माछासँगै सेल्फी लिने गर्छन् । यस सुविधाप्रति आकर्षित हुँदै विभिन्न देशका मानिस यसको मजा लिन पुग्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा वेबसाइटहरूमा उल्लेख छ ।
ग्राहक त्यहाँ पुगेर कफी पिउनु, जीवनको एक नयाँ अनुभव हुने बताउँछन् । सयौंको संख्यामा माछा राखिएको पानी हरेक चौबीस घण्टामा परिवर्तन गर्ने गरिन्छ । यहाँ कुनै किसिमको दुर्गन्ध नहोस् भनेर क्याफे सञ्चालकले विभिन्न किटनाशक औषधि प्रयोग गर्छन् ।
सन् २०१८ को जुनमा सामाजिक सन्जालमा पानी र जिउँदो माछाले भरिएको कोइ ‘पोन्ड’ क्याफेका रूपमा यसको प्रचार गरिएको थियो । यो क्याफे सामाजिक सन्जालमा भाइरल पनि भयो । विश्वभर भाइरल भएसँगै यसको आलोचना पनि भयो । क्याफे मालिकमाथि जलचरसँग क्रूर भएको आरोप धेरै नै लाग्यो ।
क्याफे मालिक न्गुएन डुओक होआले आफ्नो सपनाको क्याफेलाई वास्तविकतामा परिणत गरेको जनाएका छन् । युवा उमेरका उनको यो क्याफेको समाचार एसिया वन डट कम, इफे डट कम, मदरसिप डट एसजीलगायतले आलोचनासहित लेखेका छन् ।



प्रतिक्रिया