बिहीबार, वैशाख ११, २०८२

चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने

नेपालखोज २०७८ मंसिर ७ गते २१:४६

काठमाडौं । चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो ।

चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बालगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले चलचित्र राम्रो बनाउन आफ्नो इमानदार प्रयास हुने बताए ।

त्यस्तै, नायक दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । करिअरको सुरुवातमा सुब्बाको निर्देशनमा बनेको टेलिचलचित्र ‘दलन’ मा काम गरेको स्मरण गर्दै उनले लामो समयपछि चलचित्रमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । अभिनेत्री पशुपति राईले पनि निर्देशक सुब्बासँँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताइन् ।

यो चलचित्र छायांकनको जिम्मा निर्देशक सुब्बाले अमेरिकाका छायाँकार मार्किन कापरोनलाई दिने भएका छन् । नेपाली छायाँकारहरु भन्दा विदेशी छायाँकारसँग काम गर्न सजिलो भएकोले अमेरिकाबाट छायाँकार ल्याएको निर्देशक सुब्बाले बताए । चलचित्रको स्क्रिप्ट महेश राई र नविन सुब्बाको रहेको छ, भने मुख्य निर्मातामा अमोद राई रहेका छन् ।

त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु चलचित्रको सह–निर्मातामा रहेकाछन् ।

प्रतिक्रिया