सोमबार, वैशाख ८, २०८२

नारायण गोपाल : लुकेका १० कुरा

प्रकाश सायमि २०७८ मंसिर १८ गते ९:४१

गायक, संगीतकार, निबन्धकार अनि सम्पादक नारायणगोपालका विभिन्न रुप छन्…।
१. उनी कुशल तबलावादक हुन् ।
२. उनी पहलमानी पनि गर्थे, उनलाई साथी भाइले स्यान्डो पहलमान पनि भन्थे ।
३. उनी राम्रा भान्से पनि हुन्, उनको खसीको पकुवा र मेथीको अचार पपुलर मानिन्छ ।
४. नारायणगोपालले गाउनुभन्दा पहिला आफ्ना दाजु नन्दगोपाल गुरुवाचार्यको नाटक ‘किसान’ मा दृष्टिविहीन पात्रको भूमिका निभाएका थिए ।
५. नारायणगोपाल गोपाल योञ्जनलाई मीतज्यू भन्थे, नगेन्द्र थापालाई सोम, फत्तेमान राजभण्डारीलाई महाराज, दिव्य खालिङलाई सोम, दिलमाया खातिलाई दोस्त, हरिभक्त कटुवाललाई उनी कटुवाल भन्थे, हरिभक्तले नारायणलाई पाइन्टवाल भन्थे अति प्रिय मित्रहरुलाई भैया र मन नपर्नेहरुलाई ‘पापी’ भन्थे ।
६. नारायणगोपाल गायक कलाकारहरुमा मोटरसाइकल चढ्ने पहिलो कलाकार थिए, राजदूत सीजी उनको पहिलो वाहन थियो ।
७. नारायणगोपालको प्रिय गजल गायक हुन्, मेंहदी हसन । मेंहदी हसनले नेपाल भ्रमणमा आउँदा नारायणगोपालकै गीत गाएका थिए ।
८. नारायणगोपालले आफ्नो पहिलो प्रेमिका बेबीलाई अर्को पुरुषसँग घुम्न गएको थाह पाउनेबित्तिकै त्यागिदिएका थिए ।
९. नारायणगोपाल बिहे गरेलगत्तै पोखरामा कवि भूपि शेरचनको घरमा पाहुना भएर बसे, पछि पोखराका श्याम कायस्थको घरमा डेरा गरेर बसे ।
१०. नारायाणगोपाल कुनै कार्यक्रममा गएर आयोजकले पैसा दिएनन् भने एउटै गीत गाउँथे, ‘मसँग कुन जनमको बदला तिमी लिँदै छौ, हँ ?’ यो गीत माणिकरत्नको मौलिक गीत हो ।
तस्बिर : मीनरत्न वज्राचार्य

प्रतिक्रिया