सोमबार, वैशाख ८, २०८२

अन्तिम संदेश

खलिल जिब्रान २०७८ मंसिर २५ गते ११:५५

अलमुस्तफाले अन्ततः आफ्ना मातापिताको बगैंचा पत्ता लगाई छोड्यो | उ बगैंचा भित्र प्रवेश गर्यो र आफुलाई कसैले पछ्याउन न सकोस् भनेर भित्रबाट ढोका बन्द गर्यो |

उसले यहाँ भित्र रहेको घर र यस बगैंचामा चालिस दिन चालिस रात गुजार्यो, नितान्त एक्लै | चरो मुसो कोही थिएन त्यहाँ, ढोकाको नजिक कोही आउँदा पनि आएनन् | किनभने ढोका बन्द मात्रै थिएन सबैलाई थाहा थियो कि उसले त्यहाँ त्यतिका समय एलालासमा नै बिताउनु ‘थ्यो |

चालिस दिन बित्ना साथै उसले ढोका खोल्यो र सबैलाई भित्र आउन दियो |

अनि भने उसंग बस्न भनेर नौजना मानिस भित्र आए – तीन जना नाविक उसैको पानी जहाजबाट आएका, तीन जना मन्दिरको सेवा सुश्रुषा गर्नेहरु र बाँकी तीन जना उसका बचपनका लगौटिया साथि | यी सब उनका शिष्य थिए |

एक दिन सबेरै उसका शिष्य उसका वरिपरि बसेका थिए | उसका आँखा भने पर कतै अनन्त दुरीमा, कुनै स्मृतिमा टटोल्दै थिए | यत्तिकैमा उसको एकजना शिष्य हाफिजले प्याच्च सोध्यो, ‘गुरु, इर्फालिज नगरको बारेमा हामीलाई केही बताई दिनो’स् न, साथै तपाईले दिव्य बाह्र वर्ष बिताका मुलुकहरुको बारेमा पनि !’

अलमुस्तफा उदास, गुमसुम थियो | उ पहाड तिर टोलीन थाल्यो र आफ्ना नजर कतै अनन्त शुन्यमा स्थिर गर्यो | उसको उदासीपनमा एक किसिमको उद्वेलन थियो |

अनि भने उसले भन्यो, ‘मेरा अनन्य साथि संगीहरु, त्यो देश पनि दयनीय हो जो अन्ध विश्वासमा चुर्लुम्म डुबेको छ किन्तु धर्म शुन्य छ |

‘र त्यो देश पनि दयनीय हो जहाँ त्यस्ता वस्त्र लगाइन्छ जो आफ्नै मुलुकमा बुनिदैन ; त्यस्तो मदिरा पिइन्छ जो आफ्नै देशमा उत्पादन हुँदैन |

‘र त्यो देश पनि दयनीय हो जहाँ निर्दयीलाई शूरवीर मानिन्छ र अक्कल झुक्कल हुने विजयलाई नै दिग्विजय मानिन्छ |

‘त्यो देश पनि दयनीय हो जो सपनामा जन इच्छालाई तिरस्कार गर्छ र विपनामा त्यसैको ओठे भक्ति लाउँछ |

‘र त्यो देश पनि दयनीय हो जो मलामी जाँदामा बाहेक आफ्नो अन्तस्करणको आवाजलाई कहिल्यै वाणी दिदैन | आफ्नै खण्डहरमा डिङ हाक्नु बाहेक अन्यत्र कुनै लछार पछार लाउन सक्दैन | कहिल्यै विद्रोह गर्न जानेको हुँदैन जब सम्म उसको गर्धन अचानोमा राखेर तरबार तेर्छिदैन |

‘र त्यो देश पनि दयनीय हो जुन देशका राजनीतिज्ञ फ़्याउरा जस्ता छन्, जसको दर्शन नै ईन्द्र जाल छ, जसको कला नै टालटुल गर्नु हो र जो छेपारो झैं रुप फेरी रहन्छन् |

‘र त्यो देश पनि दयनीय हो जो आफ्नो नयाँ राजालाई धुमधामसंग स्वागत गर्छ र छिः छिः र दुर दुर गर्दै विदा गर्छ | त्यो पनि यसका खातिर कि अर्को राजालाई त्यसरी नै धुमधामसंगले स्वागत गर्न सकियोस |

‘र त्यो देश पनि दयनीय हो जुन देशका प्राज्ञिकहरु वर्षौं देखि लाटा, मुकदर्शक छन् र जसका शूर वीरहरु अझै कोक्रामा झुल्दै छन् |

‘र त्यो देश पनि दयनीय हो जो अनेक टुक्रामा विभाजित छ र हरेक टुक्रा आफुलाई एक अलग देश सम्झन्छ |’

भावानुवाद : टंक कार्की

प्रतिक्रिया