सोमबार, वैशाख ८, २०८२

सडकमा

राम योन्जन`गाउँले´ २०७८ पुष ३ गते १०:२२


न्यायालय नै स्वयं-
न्याय खोजिरहेछ यतिबेला ।

ओर्लिएर सडकमा-
एउटा न्यायालय न्याय मागिरहेको छ।

सडक भने-
पलपल गुमाइरहेछ आफ्नो छातीको सहनशीलता,
झन्झन् निचोरेर जम्मा गरिरहेछ आफ्नो मुटुको संवेदनशीलता ।

हरेक आक्रोशहरू सडकमा पोखिन्छन्
हरेक आवेगहरू सडकमा ठोकिन्छन्
हरेक असन्तुष्टहरू टायरमा सडक बालिन्छन् ।

न्यायालय- अन्यायालय हो !
फैसलाहरू बेचिन्छन्
बिक्रिमा छन् अमुल्य मुल्यहरूमा।

पैसा नहुनेहरूलाई
ढोला बन्द छ न्यायालयको ।

फैसला बेच्नेहरू-
कठैबरा! आज आफै न्याय मागिरहेछन्
भनिरहेछन् किन्न पाए पनि त हुन्थ्यो ।

आफैले बेचेको न्यायको फैसला
अब कति मुल्य तिरेर किन्छन् या किन्दैनन् जनतासँग ।

अब बोल्ने र उफ्रने पालो सडकको हो
न्याय क्रेता र बिक्रेतालाई
तह लगाउने काम सडकको हो ।

न्याय माग्न न्यायालय सडकमा
अनि न्याय नपाउनेहरू चाहिँ ?
कहाँ? नि श्रीमान कहाँ ?
कि श्रीमानको घरमा ?
कि मन्त्रीको कार्यालयमा ?
कि सिंहदरबारमा ?
कि चुपचाप आफ्नै झुपडीमा रुँदै रुँदै ?

उफ! हेर न टीभीमा समाचारको हेडलाईन
न्यायालय नै- न्याय माग्दै सडकमा ।

प्रतिक्रिया