गुप्त सन्देश

घाटमा केैयौं लासहरु जलिरहेका थिए। ती लासहरुमध्ये दुईवटा लास विषेश सम्मानका साथ जलाइँदै थियो। एउटा राजाको र अर्को शहरको धनाड्य रइसको थियो।
ती विशेष भनिएका लासमा सुगन्धमय श्रीखण्ड र चन्दनका दाउरा प्रयोग गरिएको थियो अन्य लासहरु सामान्य दाउराको आगोमा जलिरहेका थिए।
कुनै कात्रो महंगा थिए भने कुनै लासमा खाँडीको कात्रो ओढाइएको थियो। जल्ने र गाडिने लासहरुमा महिलाका लास पनि थिए।
जमिनको अभावमा छेउमै मुस्लिम र क्रिस्चियनका लागि समेत चिहानका खाडलहरु खनिँदै थियो।
घाटमा लासहरु ल्याउने जलाउने वा जमिनमा गाड्ने क्रम चलिरहेको थियो।
घाटको एक छेउमा बसेर एक बृद्धसाधु यी कारुणीक दृश्यहरु नियालिरहेका थिए।
उनले सटासट चिताको खरानी र चिहानको माटो संकलन गरे। अनि मलामीहरुको नजिक आएर भन्न थाले।
” यी खरानी र माटोका पोकाहरु फरकफरक चिता र चिहानबाट उठाएर ल्याएको हुँ। यी पोकाबाट जसले राजा धनी गरीब धर्म लिङ्ग र नश्ल विशेषको खरानी र माटोको रङ्ग छुट्याउन सक्छ । ऊ भन्दा महान् मान्छे यो धरतीमा अर्को फेला पर्ने छैन। तर झुट बोल्यो भने तत्काल शिर फुटेर उसको यहीँ मृत्यु हुनेछ ।”
सबैले पालैपालो माटो र खरानीको रङ्ग नियाले । मलामीको भीडमा कहलिएका नेता, धर्मगुरु, पादरी, वैज्ञानिकहरु पनि थिए । फरक छुट्याउन सकेनन् । सबै मलामीहरु मुखामुख गर्दै आफ्नू गन्तव्यतिर लागे।
आपसमा उनीहरू भन्दैथिए।
“राजा होस् या रङ्क या फरक धर्म लिङ्ग र नश्लका मानिस किन नहुन् ।
चिताको खरानी र माटोको गुप्त संदेश बुझ्न र रङ्ग छुट्याउन नसकिने भएपछि संसारमा घृणा द्धैष हिंसा र कोलाहलमय भेदभावको कुरुप प्रथा कस्ले चलायो ?”
प्रतिक्रिया