भोलिदेखि ‘चुरीफुरी’

काठमाडौं । लेखक तथा निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘चुरीफुरी’ भोलि (शुक्रबार) देखि अल नेपाल रिलिज हुँदै छ । मिस ग्ल्यामरस आइकल २०१६ की सेकेन्ड रनरअप सोना वज्राचार्यको डेब्यु चलचित्र ‘चुरीफुरी’ कमेडी जनराको छ ।
यसअघि च्यारिटी शोबाट पनि राम्रो रेस्पोन्स पाएको सोनाले बताइन् । च्यारिटी शोबाट संकलित रकम विभिन्न सामाजिक कार्यमा लगाएको पनि उनले जानकारी दिइन् । करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोना आफ्नो पहिलो कामबाट धेरै आशावादी छिन् । लभिङ गर्लको भुमिकामा ठुलो पर्दामा पहिलोपटक देखिन लागेकी सोनाले आफूले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरेकी छिन् । ‘आफूले पाएको भूमिकालाई पूर्ण रुपमा न्याय गरेकी छु,’ उनले भनिन् । चलचित्रमा अध्ययनका नाममा विदेशिने युवा र जग्गाको कारोबारमा ठगिएको कथालाई कमेडी शैलीमा देखाइएको छ ।
चलचित्र चुरीफुरीमा रवीन्द्र झा, सुबोध गौतम, राजीवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायत कलाकारको अभिनय देख्न पाइनेछ ।
दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य, विश्व नेपाली, बेनिशा पौडेलको स्वर छ । भीमफेदी ग्रुपको कोरियोग्राफी रहेको चलचित्रलाई राहुल राईले छायांकन गरेका हुन् । सम्पादन नवीन निरौलाले गरेका छन् भने पार्श्व संगीत हेमराज आश्रमको छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह-निर्माता रहेको यस सिनेमाको निर्माता ऋषिराज आचार्य र रीना ढकाल भण्डारी हुन् ।
प्रतिक्रिया