विभाजित समय !

म अब एक्लो रहिन
भइन स्वतन्त्र पनि
एकसमय थियो
बगिरहेको पानीको करौँते धारमा
म खोजी हिंड्थें
तिमीलाई
हात फैलाएर माग्नेले झैँ
तुफान कुदिरहेको बतासलाई मुठ्ठीमा थुन्न खोज्थेँ
तिमी त्यतै पो छौ कि भन्ठानेर
बिजुलीको नांगो तार छोएर
महसुस गर्न खोज्थेँ तिम्रो, वैजनी प्रेम
बेखबरले रन्थनिएका बेला
एकहूल कागहरू बोलाएर सोध्ने गर्थेँ
तिम्रै ताजा खबर
यस्तै थियो एकसमय
जहाँ,
समयभन्दा अगाडि थियो,
एकमात्रै हाम्रो प्रेम
अर्को समय आयो त्यसपछि
त्यतिबेला लाग्थ्यो
तिमीसँग म हुनु भनेको त
सहिद भनिएको छोरा घर फर्केर आउनु हो
आफ्नै बोझ बोकिरहेको शरीरले
खुइऽऽया गर्दै
एउटा चौतारीमा बिसाइ फेरेर निर्भार बन्नु हो-
तिमी आउनु भनेको
तिमी आउनु भनेकै
मनको खड्कुलोमा भकभक उम्लिरहेको रगत
चिसिनु हो
त्यस्तै थियो अर्को समय
जहाँ,
समयभन्दा अगाडि थियो
हाम्रैमात्र प्रेम
र, यस्तो पनि समय आएको छ
दैलोमा आज मेरो
तिमी आएपछि
कतैबाट रहिन म सग्लो
रातारात हरायो मेरो आधा अङ्ग
र, जोडियो तिम्रो पनि आधै अङ्ग ममा
हामी दुबै बन्यौँ, अर्धाङ्गी
यसरी हामी एकबाट फुटेर आधा
आधा भइगयौँ
अब भने
आधा मात्रै अङ्ग लिएर
कतै गएपनि सक्दिन एकै रात काट्न
दुख्छ, असाध्यै दुख्छ
एउटै मुखमा खाएर पुग्दैन
भात
एक्लै बाँचेर हिँड्न मिल्दैन अब
ल्याङफ्याङ जिन्दगी
निश्चितरूपमा
तिमी आउनुअघि
म उभिइरहेकै थिएँ, टेको लगाएर दुई खुट्टाको
साँचो हो-
तिमी आएपछि थपिएका हुन्
दुई अरू खुट्टाहरू
खै किन
त्यसपछि म मान्छे रहिन ।
प्रतिक्रिया