को हुन् ७ वर्षमै ४ पुस्तक लेखेर विश्व रेकर्ड राख्ने अभिजिता ?

काठमाडौं । वास्तवमा किताब लेख्नु मानिसहरूको शोख हो, रुचि हो । विश्वमा विभिन्न उमेर समूहले किताब लेख्ने गरेका छन् । विश्वकै अनुभव हेर्ने हो भने बढी मात्रामा किताब लेख्नेहरू प्रौढ उमेरका छन् । तर पनि सानो उमेरका बालबालिकाले पनि महत्त्वपूर्ण विषयमा किताब लेखेर प्रसिद्धि कमाएका छन् ।
बाल उमेरमै धेरै पुस्तक लेखेर विश्व रेकर्ड कायम गर्ने भारतकी एक ७ वर्षीया बालिका हुन् । अभिजिता गुप्ता नामी यी बालिकालाई इन्टरनेसनल बुक अफ रेकर्ड्स्ले विश्वकै कान्छी लेखिकाका रुपमा मान्यता दिएको छ । अभिजिताले पाँच वर्षको उमेरमै लेख्न थालेकी थिइन् । अहिले उनी ८ वर्षमा हिँड्दै छिन् ।

अभिजिता आशिष गुप्ता र अनुप्रिया गुप्ताकी एक्ली छोरी हुन् । भारतको गाजियावादमा गुप्ताको परिवार बसोबास गर्छ । अभिजिताकी आमा, अनुप्रिया इन्जिनियर र उद्यमी पनि हुन् । उनी भन्छिन्, ‘यो एक प्रशंसनीय उपलब्धि हो । हामी हाम्रो छोरीमा धेरै गर्व गर्छौं र उनको लेखन यात्राको हरेक चरणमा उनको समर्थन जारी राख्नेछौं ।’
एसिया बुक अफ रेकर्ड्स्ले उनलाई ‘ग्रान्ड मास्टर इन राइटिङ’ को उपाधि प्रदान गरेको छ । इन्डिया बुक अफ रेकर्ड्स्का अनुसार उनी कविता र गद्य स्पार्क ट्युटरिङ लेख्ने सबैभन्दा कान्छी लेखिका हुन् ।
७ वर्षको उमेरमा चारवटा पुस्तक लेख्ने अभिजिता पहिलो भारतीय बालिका मात्रै होइन, विश्वकै पहिलो भएकी छन् । कान्छी लेखिका अभिजिताले इन्भिन्सिबल पब्लिसर्ससँग चार पुस्तक छपाइका लागि सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
आफ्नो पहिलो पुस्तकको प्रकाशक इन्भिन्सिबल पब्लिसर्स, भारतको अग्रणी र सबैभन्दा ठूलो प्रकाशन गृहसँग चारवटा पुस्तकको सम्झौतामा बालिकाले हस्ताक्षर गरेकी थिइन् । सानो प्रतिभाको प्रयास र समर्पणका लागि प्रशंसाको रूपमा, इन्भिन्सिबल प्रकाशकहरूले उनलाई १० हजार पुस्तकहरूको अग्रिम रोयल्टी चेक दिएका थिए ।
पुस्तक लेखिका अभिजिता भन्छिन्, ‘मेरो पुस्तकलाई प्रकाशकबाट प्रशंसा र मान्यता प्राप्त भएकामा म खुसी छु । वरपर जे देख्छु र सुन्छु त्यही लेख्न मन लाग्छ । यस पुस्तकले पनि पाठकहरूको माया पाउने आशा गरेको छु ।’ पुस्तक छाप्ने सम्झौतामा हस्ताक्षर गर्ने अभिजिता भारतबाट विश्वमै पहिलो बच्चा हुन् ।

उनले लेखेका पुस्तकहरूमा ‘टु बेगिन विथ द लिटिल थिंग्स’, ‘ह्यापिनेस अल अराउन्ड’र ‘वी विल स्योर्ली सस्टेन’ हुन् । उनी यूकेको वर्ल्ड बुक अफ रेकर्ड्स्बाट महामारीमा गैरफिक्सन पुस्तक लेख्ने सबैभन्दा कान्छी लेखिकाको रूपमा पनि मान्यता पाएकी छन् ।
उनी गाजियाबादको प्रेसिडियम स्कुल इन्दिरापुरममा अध्ययनरत छिन् । उनले पाँच वर्षको उमेरदेखि लघुकथा लेख्न थालेकी थिइन् । सानै उमेरमा कविता र लेखन सीपका लागि एसिया बुक अफ रेकर्ड्स्द्वारा ‘ग्रान्डमास्टर अफ राइटिङ’ उपाधि जितेर उनले आफ्नो विद्यालय र अभिभावकका लागि नै गौरवकी पात्र भएकी छन् ।
उनको पहिलो पुस्तक मित्रता, स्वस्थ खाना खाने र अति आत्मविश्वास नहुनेबारे १० कविता र चार छोटो कथा छन् । त्यसैगरी उनका कवितामा आमाको माया, अध्ययन मेरो असल साथी, अनमोल मित्रता, कोसिस गरौँ उडौँ आदि छन् ।
उनले कोरोना लकडाउनबीचमा पुस्तक लेखिन् । ‘ह्यापिनेस अराउन्ड’ शीर्षक भएको यो लघुकथा र दृष्टान्तसहितका कविताहरूको संग्रह हो । यो बालबालिकाबीचमा व्यापक रूपमा प्रशंसा भइरहेको छ ।
अभिजिता बालबालिकाका लागि मात्र नभई अभिभावकहरूका लागि पनि प्रेरणा हुन् । उनको प्रेरणाले अभिभावकहरूलाई बाल दिमागले कसरी काम गर्छ भन्ने जानकारी दिन्छ । बालिकाको सुन्दर लेखन शैलीले आगामी दिनमा अझ ठूलो सफलता हात पार्ने निश्चित छ ।
प्रतिक्रिया