सोमबार, वैशाख ८, २०८२

दार्जिलिङ यात्रा !

दिनेश अधिकारी २०७८ पुष १७ गते ८:१६

त्यसबेलासम्म मैले दार्जिलिङको माटो टेकेकै थिइनँ । त्योपटक पनि दार्जिलिङ जाने त्यस्तो कुनै सोच थिएन । कार्यालयको कामको सिलसिलामा २०५४ चैतमा झापाको काँकडभिट्टा पुगेका बेला म दार्जिलिङ गएकै छैन भन्ने थाहा पाएपछि साथीहरुले त्यहाँ जान प्रोत्साहित गरे । पर्सिपल्टै शनिबार थियो । त्यसको पनि सदुपयोग हुने देखेपछि भोलिपल्टै म र मसँगै काम गर्ने साथी धनबहादुर राना त्यहाँका साथीहरुले मोलतोलगरी मिलाइदिनुभएको भारतीय नम्बर-प्लेटको भाडाको एउटा कार लिएर सिलिगुडी हुँदै त्यही दिन बेलैमा दार्जिलिङ पुग्यौं । चालकको सहयोगमा होटेल खोज्यौं र भोलिपल्ट घुमघामको कार्यक्रम पनि मोटामोटी रुपमा मिलायौं ।

साँझको समय फुर्सद नै थियो । त्यसैले कोही कोही साहित्यकारसँग भेट्न पो सकिन्छ कि भन्ने मनमा आयो । मैले आफू बस्ने होटेलमै त्यसको सम्भावनाबारे कुरो चलाउँदा त्यहीँ कसैले नेपाली साहित्य सम्मेलन (स्थान पनि यही नामले र भवन पनि यही नामले चिनिदो रहेछ।) तिर भेट हुन सक्ने जानकारी दिएपछि हामी दुवैजना त्यहाँ गयौं । पुस्तकालयमा पस्यौं । कसैलाई चिनेको पनि थिएन । फलानोलाई भेट्ने भन्ने सोच पनि थिएन । दार्जिलिङ आउने पूर्वसोच भएको भए त्यतिखेर काठमाडौंमै रहनुभएका संगीतकार मित्र मणिकमल क्षेत्रीजीसँग पक्कै पनि केही जानकारी लिएर आउँथे होला । त्यो पनि भएन । यसै परिचय गरुँ न त भन्ने सोचेर पुस्तकालयमा भेटिनु भएका तीनजना मानिससँग मैले चिनाजानी गरें । सयोगले उहाँहरु साहित्यकार नै हुनुहुँदोरहेछ ।

उहाँहरुले मेरो पनि नाम सुन्नुभएको रहेछ ! मैले आफ्नो साथमा लगेको, त्यही वर्ष प्रकाशित मेरो गीतसङ्ग्रह ‘आफ्नै मन : आफ्नै आँगन’ पुस्तकालयका लागि उपहार छोडें । साँझ, छिप्पिन पनि लाग्दै थियो । छोटो कुराकानीपछि हामी सबै छुट्टियौं ।

२० मार्च १९९८ (७ चैत २०५४) का दिन खिचिएका यी तस्बिरहरु त्यही भेटघाटका सम्झना त हुन् नै । थपमा, दार्जिलिङ निवासी साहित्यकारहरुसँग उहाँहरुकै थाकथलोमा भएको मेरो पहिलो भेटको निशानी पनि हो । पहिलो तस्बिर नेपाली साहित्य सम्मेलनको पुस्तकालयमा खिचिएको हो भने दोस्रो तस्बिर बिदा हुने क्रममा सोही भवनको प्रांगणमा खिचिएको हो । दुवै तस्बिरमा कथाकार, उपन्यासकार तथा अनुवादक कर्ण थामी (गलबन्दीमा), कवि एवं कथाकार गोपिचन्द प्रधान (सेतो बुट्टे टोपीमा), कवि तथा समालोचक हरेन आले (कालो टोपीमा) र म दिनेश अधिकारी (खैरो ज्याकेटमा) देखिएका छौं ।

May be an image of one or more people and people standing

प्रतिक्रिया