‘सांगीतिक संघको जन्म’

नेपाल साङ्गीतिक संघका अचेलका गतिविधि बारे म त्यत्ति जानकार छुइँन। तर नेपाल साङ्गीतिक संघको जन्मको कथासँग भने राम्रैसँग परिचित छु।

कुरा २०५६ साल भदौको हो। गीत- सङ्गीतको प्रसारण गर्दा स्रष्टा- कलाकारको नाम अनिवार्य रुपमा प्रसारण गर्न र रेडियो/टेलिभिजनमा गीत प्रसारण भए बापत उचित पारिश्रमिक दिन माग गर्दै यदि यसो नगर्ने हो भने हाम्रा गीत- सङ्गीतहरु प्रसारणमा नल्याउनु भनी मेरो सक्रियतामा सङ्गीतकारहरु नातिकाजी, शिवशंकर, शम्भुजित बास्कोटा, प्रकाश गुरुङ, दीपक जङ्गम, शक्तिवल्लभ, बुलु मुकारुङ, लक्ष्मण शेष, न्हयुँ बज्राचार्यसमेत, गीतकारहरु किरण खरेल, रत्नशमशेर थापा, यादव खरेल, ईश्वरवल्लभ, चेतन कार्की, राममान तृषित, क्षेत्रप्रताप अधिकारी,गणेश रसिक, हिरन्य भोजपुरे, मञ्जुल,श्रीपुरुष ढकाल, कृष्णहरि बराल,भूपाल राई, रमण घिमिरे, श्रवण मुकारुङसमेत र गायक / गायिकाहरु प्रेमध्वज प्रधान, कुमार बस्नेत,योगेश वैद्य, दीप श्रेष्ठ , मीरा राणा, ज्ञानु राणा,तारा थापा, प्रकाश श्रेष्ठ, दीपक खरेल,रविन शर्मा, कुन्ति मोक्तान, कोमल वली, रामकृष्ण ढकाल, कुमार कान्छा, स्वरुपराज आचार्यसमेतका १६२ जना गीतकार, सङ्गीतकार र गायक/ गायिकाहरूले दस्तखत गरेको ज्ञापनपत्र रेडियो नेपाल, नेपाल टेलिभिजन र निजी क्षेत्रका एफ.एम.तथा सङ्गीत उत्पादक संस्थाहरुलाई बुझाई त्यसको जानकारी तत्कालीन सूचना तथ सञ्चार मन्त्री र युवा, खेलकुद तथा संस्कृति मन्त्रीलाई पनि बुझाएका थियौं।

व्यक्तिगतरुपमा थालिएको यो लडाइ संस्थागत रुपमा नै लड्नुपर्छ भन्ने भएपछि गीतकार, सङ्गीतकार एवम् गायक/गायिकाको साझा र छाता सङ्गठनको रुपमा नेपाल साङ्गीतिक संघको परिकल्पना गरियो। मैले यसको विधान मस्यौदा गरेँ। २०५६ सालमै लोक गायक कुमार बस्नेत दाइको संयोजकत्वमा नेपाल साङ्गीतिक संघको स्थापना भयो । त्यो कार्य समितिले मलाई सल्लाहकारको हैसियतमा राख्यो । त्यसबेलाको त्यो प्रयासले केही परिणाम पनि दिएको हो, तथापि स्रष्टा- कलाकारले पाउनु पर्ने नाम र दामको त्यो लडाईँ अझै सकिएको छैन ।

कुमार बस्नेत दाइ, मीरा राणा दिदी, मित्रहरु बुलु मुकारुङ र भुपेन्द्र रायमाझीका साथमा (मेरो छोरो शब्द अधिकारी पनि बीचमा देखिन्छ) खिचिएका यी तस्वीरहरु नेपाल साङ्गीतिक संघ स्थापना गर्ने सिलसिला छलफल गर्न मेरो घरमा भेला-जम्मा भएको अवसरमा त्यसैबेला खिचिएका हुन् । त्यसो त त्यसबेलाका केही महत्त्वपूर्ण सामाग्रीहरु, अभिलेखको रुपमा, अहिले पनि मसँग सुरक्षित छन्।
प्रतिक्रिया