साइँला-सहर नजा

घरै घर र महलै महलको जङ्गलमा
गुराँस फुल्दैन साइँला
मनलाई सम्झा, यहीं बस् ।
भोक लाग्यो भने- वन तरुल खाउँला ।
पिर लाग्यो भने- सेलो शैलुङ्ग गाउँला ।
यहाँ- वन पाखाहरूमा बुकी फुल्छ्न् ।
आँखा वरिपरि हिमाल खुल्छन् ।
गल्छेडाहरूमा
गलाको घण्टी हल्लाउँदै-चौंरी डुल्छन् ।
मान्छे- मान्छेको भिडमा,
मान्छे खोज्दा पाइँदैन- साइँला ,
सहर नजा- मनलाई सम्झा, यही बस् ।
जाडो भयो भने – बेसी तिर झरौंला ।
गर्मी भयो भने – लेक तिर सरौंला ।
यहाँ – हिमतालमा ओर्लिएर
जून- सर्वाङ्ग नुहाउँछ।
लुकामारी खेल्दै हिमालसङ्ग
घाम- आँखा जुधाउँछ।
कुद्दा कुद्दै गलेर- भन्ज्याङ्गमा पुगेपछि
बादल- घुप्लुक्क निदाउँछ ।
शितदानीमा पखेटा चोवेर,
डाँफेले गीत लेख्छ।
आँगनमा उभिएर
जता हेरे पनि
आँखाले स्वर्ग देख्छ।
धन सम्पतिको संसारमा
शान्ति पाइदैन -साइँला,
सहर नजा, मनलाई सम्झा- यही बस्।
मन हास्यो भने – रोदीमा रमाउला।
मन रोयो भने – न्याउलीसङ्गै रोउला।।
साइँला- मनलाई सम्झा ,यही बस् – सहर नजा ।
प्रतिक्रिया