मंगलबार, वैशाख ९, २०८२

एउटा भविष्यवाणी !

सुनील सापकोटा २०७८ माघ १३ गते १९:०५

हिजोआज यो पृथ्वीको पर्यावरण सन्तुलनलाई ठीक राख्न जुन योजनाहरु बनाउने कुरा गरिँदै छ त्यो मनुष्य जातिका लागि एउटा खुसीको कुरा हो । अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प त एउटा लम्पट मानिस देखियो यो कुरामा । आज पृथ्वीको जुन पर्यावरण सन्तुलन दिनहुँ बिग्रँदै गइरहेको छ त्यसले यो पृथ्वीमा मनुष्य जातिको धेरै लामो आयु देखिँदैन । यस सम्बन्धमा एउटा अमेरिकी आदिवासी कबिलाको सरदारले लेखेको पत्रको प्रसंगको भविष्यवाणी मलाई घत लगेको हुँदा यहाँ राख्छु ।

कोलम्बसले अमेरिका पत्ता लगाएपछि त्यहाँ युरोप र पश्चिमका अन्य ठाउँहरुबाट गोराहरुको प्रवेश धमाधम हुन थालेको हो । आज अमेरिकाको जुन सम्पन्नता देखिन्छ, त्यसको जगमा त्यहाँ पहिलेदेखि बसोबास गरिरहेका मूल आदिवासी (रेड इन्डियन) को रगत मिसिएको छ ।

प्रकृतिलाई वास्तवमै प्रेम गर्ने अद्भूत सामुदायिक चेतना भएका त्यहाँका मूल निवासीहरुलाई जंगली र असभ्य भन्दै तिनीहरुलाई सभ्य बनाउने नाउँमा गोराहरुले तिनीहरुको सम्पत्ति लुट्दै तिनीहरुको हत्या गर्दै जुन त्यहाँ नरसंहार गरे त्यस्को इतिहास हेर्दा बडो अमानवीय र डरलाग्दो लाग्छ ।

आजभन्दा एक सय सत्तरी वर्षअघि जब अमेरिकामा त्यहाँका आदिवासीमाथि गोराहरुको अत्याचार चरम सीमामा थियो त्यही बेला ‘सूकामिस’ नाम गरेको एउटा कबिलाभित्र सिएटल नाउँ गरेको एउटा निडर युवा वीर योद्धा सरदार भएको थियो । उसले त्यो बेला त्यहाँका ६ वटा स्थानीय कबिला समूहको नेतृत्व गरेको थियो । त्यो बेला उसले सन् १८५४ मा तत्कालीन अमेरिकाको राष्ट्रपति फ्रैंकलिन पियर्सलाई सम्बोधन गरेर एउटा पत्र लेखेको थियो जो अत्यन्त मार्मिक छ । त्यो पत्रमा उसले लेखेको थियो । वासिंगटनको सरदारले तपाईंलाई यो सन्देश दिन चाहन्छ कि- ‘सुनिँदै छ कि तिमीहरु हाम्रो जमिनहरु किन्न चाहन्छौं । तिमीहरु कसरी यो आदिवासीलाई किन्न र बेच्न सक्छौ ? तिमीहरु कसरी जमिनको तापलाई किन्न सक्छौं ? हाम्रा लागि त तिमीहरुको यो विचार अचम्मको लाग्छ । हुन त हावाको ताजगी या पानीको चमकमा हाम्रो अधिकार पनि न रहेको हुँदा तिमीहरु यसलाई कसरी किन्न सक्छौ ? यो जमिनको हरेक हिस्सा हाम्रो कबिलाहरुका लागि पवित्र छ ।

यहाँका रुखहरुको एक-एक पत्ताहरु, यहाँका नदीहरुको तटहरु, जंगलको एक-एक अध्याँरो रातहरु, एक-एक खुला मैदानहरु र एक-एक यहाँका किट-पतंगको आवाजहरु हाम्रो अनुभव र स्मृतिमा पवित्र रुपले दर्ज रहेको छ ।

हामीहरु यहाँका रुखहरुभित्र बग्ने जीवन जललाई त्यो रगत जस्तो मान्दछौ‌, जो हाम्रो नशामा बगिरहेको छ । हामी यो धरतीको हिस्सा हौं र धरती पनि हाम्रो हिस्सा हो । यहाँका मग-मग बास्ना आउने फूलहरु हाम्रो दिदिबहिनीहरु हुन् । यहाँका बाघ-भालु, बाज र हरिणहरु सारा हाम्रा सहोदर हुन् । यहाँका चट्टानहरुको उचाइ, मैदानका घाँस, खच्चरहरुको शरीरको गर्मी र हामीहरुको गर्मी एउटै छ । हामीहरु सबै एउटै परिवारका सदस्यहरु हौं ।

यहाँका नदी र छहराहरुमा बग्ने पानीलाई केवल पानी मात्र न सम्झ, यो हाम्रो पुर्खाको रगत हो । नदीहरु र झरनाबाट आउने कोलाहलहरु हाम्रो पिताको आवाज हो । जसले हाम्रो र हाम्रा बच्चाहरु प्यास मेटाइरहेको छ। के तिमीहरुले धरती हाम्रो माता हो भन्ने कुरा हामीले हाम्रा बच्चाहरुलाई सिकाए जस्तो सिकाएका छौ ? हामीहरु यति मात्र जान्दछौं कि धरती मनुष्यको अधिनमा हुँदैन । मनुष्यको सम्पत्ति होइन । बरु धरतीको अधिनमा मनुष्य हुन्छ । हामीलाई थाहा छ कि तिमी गोराहरुको दिमागमा हाम्रो जीवनका यी कुरा छिर्दैन । तिमीहरु हरेक धरतीको टुक्रालाई एकैजस्तो सम्झिन्छौ । तिमीहरु त त्यो राति आउने अजनवी जस्ता हौ जो यो धरतीबाट हाम्रो काम लाग्ने चाहिने कुराहरु चोरेर लान्छौ र आफ्नो पुर्खाको चिहान त्यहीँ छोडेर जान्छौ र आफ्नो बच्चाहरुलाई उनीहरुको जन्माधिकार बिर्साइ दिन्छौ ।

गोराहरुको सहरहरुमा कुनै शान्त ठाउँ नै छैन । उनीहरुको त्यहाँ त्यस्तो कुनै ठाउँ नै छैन जहाँ वसन्त ऋतुमा रुखहरुका पत्ताहरुको खट-खट आवाजहरु र कीराहरुको पदचाप सुनियोस् । हामीहरु यो कुरा तिमीहरुलाई सम्झाउन सक्दैनौं । तिमीहरुको स्वर हाम्रो कानका लागि एउटा अपमान मात्र हो । चराहरुको कुक-कुक रुपी संगीत र तलाउका भ्यागुताहरुको कुराकानी तिमीहरुले बुझ्न न सक्नुमा तिमीहरुको जीवन व्यर्थ छ ।

तिमीहरु पनि यो दुनियाँबाट एकदिन हामी कबिलाहरुभन्दा पहिले नै जानेवाला छौ । तिमीहरुले यो दुनियाँलाई जुन फोहोरहरु थुपारेर एकदिन जानेवाला छौ त्यसको थुप्रोमा तिमीहरुको नै सास अड्किएर मर्नेवाला छौ । जब यो जंगलका सबै गाई-भैंसीहरु र अन्य जनावरहरु काटिनेछन् । अनि यहाँका सारा जंगली घोडाहरु जनावरहरुलाई पाल्तु बनाइनेछ, जंगल मासिनेछ । तब मानिसहरूको यो धरतीमा बस्ने स्थान हुँदैन, अनि युद्ध हुनेछ, तब मनुष्य जीवनको अन्त्य हुनेछ । यो निकट भविष्यमै तिमीहरुले गर्दा हुँदै छ ।’

प्रतिक्रिया