बुधबार, वैशाख १०, २०८२

भीमसेन स्तम्भ !

सुनील उलक २०७८ माघ २२ गते १३:५१

भीमसेन थापाले वि.सं. १८८१ मंसिरमा आफ्नो बागदरबारको नजिकै धरहरा बनाई त्यस धरहरामा गजुर चढाएका थिए । पछि १८८३ वैशाख ९ मा रानी ललित त्रिपुरासुन्दरीको नाममा पनि अर्को धरहरा सुन्धारानजिकै तयार गराएर त्यस धरहरामा पनि गजुर चढाइएको थियो । तर यी दुवै धरहरा वि.स १८९० को भूकम्पमा भत्किए । पहिलो धरहरा जुन भीमसेन थापाले आफ्नै नाममा बागदरबारनजिकै बनाएका थिए त्यो धरहरा भीमसेन थापाले पुनर्निर्माण नै गराएनन् । तर रानी ललित त्रिपुरासुन्दरीको नामको धरहरा जुनबीच भागबाट दुई टुक्रा भएको थियो यसलाई भने भीमसेन थापाले नै जीर्णोद्धार गराइदिएका थिए । रानीको नामको धरहरा पुनर्निर्माण भीमसेन थापा आफैंले गराइदिए पनि सो धरहरालाई रानी स्वयंले भीमसेन स्तम्भका रुपमा स्वीकार्न लगाएका थिए जसले गर्दा सर्वसाधारणले पनि नयाँ धरहरालाई भीमसेन स्तम्भको नामबाट चिन्न थाले ।

No description available.

१८९० को भूकम्पपछि पुनर्निर्माण गराएर ११ तलाको बनाइएको धरहरा पनि वि.सं. १९९० को भूकम्पमा फेरि ध्वस्त भयो । त्यतिबेलाका श्री ३ महाराज जुद्धशमशेरले पुनर्निर्माण गराएर ९ तलाको धरहरामा बरन्डा पनि बनाइदिएका थिए । यसरी दुईतला कम भए पनि धरहरा अझ आकर्षक बनाइएको थियो ।

२०७२ सालको भूकम्पले फेरि सो राणाकालमा पुनर्निर्माण गराइएको धरहरा पनि ध्वस्त भयो । निकै लामो समयपछि धरहरा पुनर्निर्माण त गरिँदै छ तर अर्बौं रुपैयाँ खर्चेर धरहरा होइन झिल्के टावरका रुपमा व्यापारिक संरचना बनाइँदै छ ।

साथमा राखिएको तस्बिर भने वि.सं. १९७७ सालमा दीर्घमान चित्रकारले खिचेका थिए । यसमा भूकम्पले ध्वस्त हुनुअगाडिको ११ तलाको धरहरा देख्न सकिन्छ ।

प्रतिक्रिया