अतित र वर्तमान !

आज सरस्वती पूजा हो । म आफ्नो गाउँको बाल्यकालका ती विगतका दिनहरु सम्झिँदै छु । जो ज्यादै रमाइलो हुन्थ्यो । हामी केटाकेटीहरुका लागि त्यसबेलाको स्कुले जीवनमा सरस्वती पूजा एउटा ठूलो चाड थियो । सरस्वती पूजाका दिन दिनभरि गाउँका स्कुलहरु चाहर्नु , प्रसादीका रुपमा बुनियाँ, लड्डु, पेंडा र फलफूलहरु खानु । साथीहरुसँग सिनेमा हेर्न जानु र अबेर रातसम्म स्कुलमा मनोरञ्जनका लागि नाचगान र सांस्कृतिक कार्यक्रम गर्नु मेरा लागि त्यो दिन एउटा मजा र आनन्दको दिन हुने गर्दथ्यो । सरस्वती पूजा आउनुभन्दा १५/२० दिनअगाडि देखि र पछिसम्म सरस्वतीको मूर्तिलाई नदीमा नसेलाएसम्मका दिनहरु मेरा लागि बडो मस्तीको दिन हुने गर्थ्यो ।
हामी हिन्दु धर्मावलम्बीको तीन देवी (लक्ष्मी, दुर्गा, सरस्वती) मध्ये सरस्वती एक हुन् । हिन्दु धर्मावलम्बी लक्ष्मीलाई धनको, दुर्गालाई शक्तिको र सरस्वतीलाई विद्या र कलाहरु जान्ने देवीका रुपमा मान्दछन् ।
हिन्दु धर्मावलम्बीको कुनै पुराणहरुले सरस्वतीलाई ब्रह्माको मानसपुत्री मान्छ भने कुनै पुराणले ब्रह्माको पत्नी । खैर… जे भने पनि इतिहासकार र अनुसन्धानकर्ताहरुको भनाइमा वस्तुतः सरस्वती वैदिककालको एउटा नदी हो । जो प्राकृतिक दुर्घटनाहरु (बाढी, भूक्षय, सुक्खा, भूकम्प आदि ) ले कुनैबेला विलुप्त भएको हुँदा त्यसको सम्झनामा गर्दा प्रतीकका रुपमा आज मानवीय कारण गरिएको हो । उनीहरुको भनाइमा हाम्रो प्राचीन आर्य सभ्यता र संस्कृतिको केन्द्र त्यो बेला आजको विलुप्त नदीको उत्तर र उत्तर-पश्चिम भारतमा थियो रे ।
त्यो प्राचीनकालमा तत्कालीन आर्य सभ्यताको सारा घरहरु, गढहरु, नगरहरु, व्यापारिक र व्यावसायिक केन्द्रहरू, धर्म, अध्यात्म, कला, संगीत र चिकित्सा केन्द्रहरु यही सरस्वती नदीको किनारमै थियो । सरस्वती नदीको बाटो हुँदै अरब सागरमार्फत दुनियाँका अरु देशहरुमा आर्य व्यापारीहरुको व्यापार र लेनदेन हुन्थ्यो । त्यो युगको तमाम शिक्षण संस्थाहरु, ऋषिहरुको तपोभूमिका साथै योगी र पण्डितहरुको बसोबास र आश्रमहरु यही सरस्वती नदीको किनारमै थियो रे । ऋग्वेदमा ठाउँ-ठाउँमा सरस्वतीलाई नदीका रुपमा वर्णन, स्तुति, श्रद्धा गरेको पाइन्छ । देवीका रुपमा सरस्वतीको कुनै चर्चा पाइँदैन । सरस्वती नदीको मानवीयकरणपछि ब्राह्मणहरुले पुराणहरुमा लेखेका हुन् । जो काल्पनिक र एउटा मिथक हो ।
धेरैअगाडि देखि हामी हिन्दुहरुले आजको दिनलाई एउटा स्मृतिको रुपमा नदिलाई मानव प्रतीकका रुपमा मानवीयकरण गरी देवी सरस्वतीको जन्मोत्सवको उत्सव गर्दै आएको पाइन्छ । सरस्वतीको पूजा वस्तुतः हामी हिन्दु आर्यहरुको त्यो बेलाको सभ्यता-संस्कृति, ज्ञान-विज्ञान, गीत-संगीत, धर्म-अध्यात्म आदिको भूमिकाप्रति हाम्रो कृतज्ञताको एउटा अभिव्यक्ति हो ।
प्रतिक्रिया