चर्चा : वसन्त ऋतुको आगमन

वसन्त ऋतु प्रेम र रोमान्सको मौसम हो । यो बेला प्रकृति नव यौवनमा हुन्छ । यो बेला प्रकृतिका सन्तानहरु विशेषगरी चराचुरुंगीहरु वसन्तको रागमा हुन्छन् । वसन्त ऋतुमा सबै जीवित प्राणीहरुमा केही शारीरिक, मानसिक, भावनात्मक परिवर्तन भएको हुन्छ । यो परिवर्तन मनुष्यभन्दा बढी पक्षीहरुमा हुन्छ । पक्षीहरुलाई प्रकृतिको ‘ब्यारोमिटर’ पनि भनिन्छ ।
पहिले हाम्रा घरहरुको आँगन र कौसीहरुमा भगेंराको चहक र बगैंचाहरुमा कोइलीको मनमोहक आवाजलाई वसन्तको आरम्भ मानिन्थ्यो । तर हालका वर्षहरुमा काठमाडौं र नेपालका अन्य ठूला सहरहरुमा सहरीकरणको साथै प्रकृति दोहोनको कारणले पक्षीहरुले हामीहरुसँग दूरी बनाएको पाइन्छ ।
प्रेमको यस मौसममा प्रकृतिको पहिलेजस्तो त्यो मादक रूप न देखिन्छ, न अचेल ती पक्षीहरुको त्यो प्रणय-गीत नै सुन्न पाइन्छ ।
प्रकृतिको परिवर्तन (ग्लोबल वार्मिङ) ले पक्षीहरुको भित्र त्यो पहिलेको रागहरु मात्र होइन कि हामी मनुष्यको हृदयभित्रको कोमल भावनाहरुलाई समेत ध्वस्त गरिसकेको स्थित छ । त्यसैले हिजोआजका नयाँ पुस्ताहरु को मनमा न त्यो वसन्तको हाम्रो जस्तो रुमानी अवस्था छ, न हाम्रो हृदयभित्र पहिले जस्तो त्यो प्रेम ज्वारभाटा नै । बरु म त अचेल त्यसको उल्टो देख्छु । यान्त्रिक र संवेदनहीन भई रहेको समाज पो देख्छु । अचेलको समाजमा त पहिलेजस्तो आत्मिक प्रेम र पवित्र भावनाभन्दा यौन महत्त्व र भोक बढी जागेको पो देख्छु । हिजोआज मलाई के लाग्छ भने वसन्त ऋतुको त्यो चालीस-पैंतालिस वर्षपूर्वको जस्तो आगमन अब त पुस्तक, पत्रपत्रिका र स्मृतिहरुमा मात्र रहेको पाइन्छ होला ।
त्यो हाम्रो पालाको वसन्त ऋतु तब मात्र फर्केला जब प्रकृति आफ्नो पहिलेको जस्तो असली स्वरुपमा आउलिन् । जब पहिलेको जस्तो फेरि वृक्षहरु हराभरा होलान् । जब हाम्रा नदीहरु निर्मल भएर अविरल बग्लान् । जब हाम्रा घर-आँगन र वन-उपवन फेरि पक्षीहरुको प्रेम र रोमान्सको प्रणय-गीतले रोमाञ्चित होला ।
प्रतिक्रिया