देश बिरामी छ !
हाम्रा पोखरीका माछा, फार्मका कुखुरा र अन्डा हामीले बजारमा पुर्याउन पाउँदैनौं, तर छिमेकी देशका माछामासु किन्न विवश छौं ।

कोरोनाको कहरले कक्रिएका बेला बाहिर जान निषेध छ । छोरा, बुहारी, श्रीमती कसैको पनि अनुमति हुँदैन बाहिर निस्कने । एक दिन त कसैले नदेखेको मौका छोपेर यसो सडकमा निस्केको थिएँ । एकजना पूर्वपरिचित गफाडी मित्र भेटिए । हाम्रो रीतिरिवाज, धर्म–संस्कृति र परम्पराअनुसार बन्धुबान्धव, इस्टमित्रहरू भेट भएपछि बोलिने पहिलो वाक्य हो– ‘के छ ?, यहाँलाई आरामै छ ?, घरपरिवार सबैमा सुख–शान्ति छ होला ।’ भन्ने ।
मैले पनि त्यही बनिबनाउ वाक्य दोहोर्याएँ र आफ्नो कर्तव्य पूरा गरेँ । मित्रबाट पनि ‘मेरो त ठीकै छ, तपाईंको नि ?’ भन्ने त्यस्तै प्रश्न आउँछ होला भनेर उनको मुखमण्डलमा हेरेर प्रतीक्षा गरेँ । मित्रबाट आज त्यस्तो बनिबनाउ उत्तर होइन कि अर्कै उत्तर आयो ।
‘कहाँ आराम हुनु ! देशै बिरामी भएका बेलामा हामी नेपालीलाई कसरी आराम हुने ? आराम हुन त तन मात्र स्वस्थ भएर कहाँ हुन्छ र ? मन पनि स्वस्थ हुनुपर्छ नि ।’ भनेर उनी आफ्नो बाटो लागे । म जिल्ल परेर हेरिरहेँ । के भनेको होला साथीले ? ‘देशै बिरामी छ रे !’ एकछिन् त म अकमक्क परेँ । त्यसै बेला अर्का साथी आइपुगे । उनीसँग भलाकुसारी गरिसकेपछि मैले पहिलो साथीले भनेको कुरा सुनाएँ । यिनले पनि उनैको कुरालाई समर्थन गर्दै भने- ‘ठीकै त भनेछन् उनले । देश बिरामी त छ नि । यस्तो हालतमा रहेको देशलाई कसरी स्वस्थ भन्ने ? बरु मरणासन्न भन्नुपर्ने हो कि ? मलाई त त्यस्तो पो लाग्न थालेको छ । यो देश कसले चलाएको छ र कसरी चलेको छ भनेर सोच्नुपर्ने भएको छ । कतै फिजीजस्तै नबनोस् भन्नुपर्ने भैसकेको छ । छिमेकी देशको गाउँप्रधानमा हारेका व्यक्ति हाम्रो देशमा आएर नेतामात्र होइन उपप्रधानमन्त्रीसम्म हुन्छन् । कुन दिन प्रधानमन्त्री भएर देशलाई सिक्किमीकरण गर्ने हुन् कि ? भन्ने सोँच्नुपर्ने भइसकेको छ । योभन्दा डरलाग्दो अवस्था के हुनसक्छ देशका लागि ? एउटा खुट्टा नेपालमा एउटा खुट्टा छिमेकमा राखेर राजनीति गर्ने नेतालाई हामीले सत्तामा पुर्याउँछौँ । अनि देश कसरी स्वस्थ रहन सक्छ ?’
‘होइन होला, कसरी त्यस्तो हुनसक्छ ? नागरिकता नभएको व्यक्ति त निर्वाचनमा उम्मेदवार नै हुन सक्दैन भन्छन् । कसरी मन्त्री भए होलान् र ?’ मैले नकारेँ ।
‘एक जना नेतालाई हात लिएपछि नागरिकता आइहाल्छ नि । नेपालमा नागरिकता लिन के दुःख छ र ? ‘नागरिकता भन्ने कुरा चक्लेट बाँडेजस्तै बाँड्ने चिज हो ?’ भन्ने नेताले त आफ्नो स्वार्थ पूरा गर्नुपर्यो भने संसद भंग गरेर अध्यादेश ल्याएर भए पनि नागरिकता बाँड्न तम्सिन्छन् भने अरूले के गर्लान् ? कसको विश्वास गर्ने ? आफ्नो स्वार्थबाहेक देशको हित हेर्ने खाले नेता त मैले देखेको छैन ।’
‘नागरिकता भन्ने कुरा चक्लेट बाँडेजस्तै बाँड्ने चिज हो ?’
‘समृद्ध नेपाल सुखी नेपाली बनाउने भनेर कति नेता लागिपरे । तँभन्दा म के कम ? भनेर लागिपर्ने नेताको हामीकहाँ के कमी छ र ? तै पनि तपाईंले नेता नै देखिनँ भन्नुहुन्छ । मैले नबुझेको हो कि तपाइँले नबुझेको हो ? म त तीनछक् परेँ नि ?’
‘देशको विकास र जनतालाई सुखी बनाउने भन्ने त नेताहरूको नारा र भाषण मात्रै त हो । न त देशको विकासमा नेताको ध्यान गएकोछ न त जनताले सुख पाएका छन् । विकास भएको छ भने नेता र उनका आसेपासेको भएकोछ । यति पनि बुभ्mनु हुन्न ?’
‘मित्रले त उल्टै मैलाई पो प्रश्न गरेर बाटो तताए । पहिलो मित्रको कुरा नबुझेर दोस्रो मित्रलाई गुहारेको त झन् मलाई उल्लु बनाएर गए । ‘जति जोगी आउँछन् कानै चिरेका ।’ भनेजस्तै दुवै मित्रले देश बिरामी भएको देखेका रहेछन् । मैलेमात्र किन देख्न सकिनँ ? अब भने मैले सोच्नैपर्ने भयो । तर यो बोधो दिमागले के सोच्ने ?
एक दिन युवराज गौतमले पत्रिकामा लेखेका थिए- ‘भुटानमा आमा, बाबु दुवै भुटानी छन् भने सन्तानले नागरिकता पाउँछन् । उनीहरूमध्ये एकजना विदेशी छ भने १५ वर्ष भुटानमा बसेको पर्याप्त प्रमाण पुगेपछि मात्र नागरिक हुनसक्छ । अमेरिका, जर्मनी, जापान, स्विट्जरल्यान्ड र अस्ट्रियामा पनि विदेशीले नागरिकता प्राप्त गर्न धेरै प्रमाण जुटाएर अनेक सर्त मान्नु पर्छ ।’
साउदी अरेबियामा बीस वर्ष निरन्तर बसेपछि आवेदन दिन पाइन्छ । नागरिकता दिँदा त्यस्तो व्यक्तिबाट राष्ट्रले कति लाभ पाउँछ ? त्यो जाँच गरिन्छ । ‘तर नेपालमा बसपार्कमा झोला बिसाएर जिल्ला कार्यालय गएपछि नागरिकता पाउने सेट मिलाइएको हुन्छ । नभए सीडीओलाई घेराउ गरेर मन्त्रीलाई फोन गरिन्छ ।’
भ्रष्टाचार र विदेशी रकमले चलेका दल र त्यस्ता दललाई राष्ट्रको बल ठान्ने जनता नेपाललाई बर्बाद गराउन पर्याप्त छन् ।’ आदि । (नागरिक दैनिक २०७८–३–१८)
युवराजको यो तर्क सम्झेपछि म पनि झल्याँस्स भएँ । जुन देशमा हाम्रा छोरीहरू विवाह गरेर गए भने नागरिकता पाउन सात वर्ष कुर्नुपर्छ । त्यो देशका छोरीहरू हामीकहाँ बुहारी भएर आएको भोलिपल्टै नागरिकता पाउनुपर्छ भनेर कुर्लने नेतालाई देशको साँचो सुम्पेपछि हाम्रो देश बिरामी नभएर के होला ?
हाम्रो देशको पानी हिउँदमा आफूलाई चाहिएका बेलामा पाइँदैन । जब वर्षा सुरु हुन्छ र पानी बढी हुन्छ सीमानामा बनेका बाँधका ढोका बन्द भएर देश डुबानमा पर्छ । हाम्रा किसानले विषादिरहित फलफूल, तरकारी बेच्न नपाएर बारीमा कुहिन्छन् । तर छिमेकका विषादियुक्त फलफूल र तरकारी किनेर खान विवश हुन्छौँ । हाम्रा पोखरीका माछा, फार्मका कुखुरा र अन्डा हामीले बजारमा पुर्याउन पाउँदैनौं, तर छिमेकी देशका माछामासु किन्न विवश छौं । हाम्रा दाजुभाइले आफ्नो जमिनमा खेती गर्छन्, स्याहार्ने बेलामा त्यो जमिन पराइको हुन्छ । यति हुँदा पनि हामी बोल्न सक्दैनौं । यस्तो बेलामा न त हाम्रा कुनै नेताको बल मिल्छ न त सरकार नै हाम्रो पक्षमा बोलिदिन्छ ।
जताबाट पनि थिचिने पिसिने र चित्त दुःखाउनुपर्ने सर्वसाधारण निमुखा जनता नै त हो । न त नेताको चित्त दुख्छ न त नेताका झोले, हुक्के र सुसारेहरूको । हुन त अख्तियारमा बयान दिन जाँदा त दलबल लिएर नारा लगाउँदै झन्डा हल्लाएर जानसक्ने मन्त्री नेताहरू भएको देशमा निमुखा जनताले चित्त दुखाए भन्ने कुरा कुनै ठूलो भएन । तर ‘…लाई भन्दा देख्नेलाई लाज’ भनेजस्तै लाज मान्नुपर्ने यिनै निमुखा जनतालाई हुँदो रहेछ । म पनि यिनै जनतामध्येकै भएकाले सोच्न थालेँ–
किन यस्तो भयो त ? देश किन बिरामी परेछ त ? सरकारको दोष हो कि, नेताको दोष हो कि, कर्मचारीको दोष हो ? अथवा जनताको नै पो दोष छ कि ? म धेरै घोरिएँ । विचरो सरकार के गरोस् ? सरकार चलाउने पनि त मानिसै हुन् । छिमेकीले भनेअनुसार नगरे सत्तामा कसरी टिक्ने ? यही बेला हो दुई–चार पुस्ताको जोहो गर्ने । फेरि चुनाव आउँछ । खर्चपर्च चाहिहाल्छ । छिमेकीलाई चिड्याएर कसरी काम चल्छ ? देश र जनता भनेर मात्र कहाँ हुन्छ र ?
हाम्रा दाजुभाइले आफ्नो जमिनमा खेती गर्छन्, स्याहार्ने बेलामा त्यो जमिन पराइको हुन्छ । यति हुँदा पनि हामी बोल्न सक्दैनौं । यस्तो बेलामा न त हाम्रा कुनै नेताको बल मिल्छ न त सरकार नै हाम्रो पक्षमा बोलिदिन्छ ।
सरकारलाई दोष त दिनै मिलेन । नेतालाई दोषी भनौं । नेताको पनि त हालत उही हो । झोले नेताबाट बढ्दै सत्ताधारी नेता बन्नुपर्छ । सत्तामा नपुग्दासम्म त हो सरकारलाई गाली गर्ने । सत्ताधारी भएपछि त हालत उही हो ।
वास्तवमा देशलाई बिरामी बनाउने कर्मचारी पो हुन् कि ? नेतालाई बाटो देखाउने र प्रशासन चलाउने त उनै हुन् । यसो सोच्यो, विचराहरूलाई पनि कसरी दोषी भनौं ? नेताको झोला नबोके सचिव, सह-सचिव भए पनि खरिदार मुखियाले टेर्र्दैनन् । महिनामा तीन ठाउँमा सरुवा हुनुपर्छ । नगरेको गल्ती उनैले स्वीकार्नुपर्छ । उनै भ्रष्टाचारी ठहरिन्छन् । नेताको झोला भिर्यो भने सात खत पनि माफी हुन्छ । सबैले देखेजानेकै कुरा हो ।
जनता नै भए पनि अलि चलाख र खर्चपर्च व्यहोर्न सक्नेले त कुनै न कुनै नेता समातेकै हुन्छन् । तिनीहरू त झन् दोषी हुनै सक्दैनन् । तिनले त दुई–चारजना मान्छे मारे पनि राजनीति ठहरिन्छ । वस्तुतः खास दोषी त सोझासाझा जनता नै हुन् । यिनैले देशलाई रोगी बनाउँदा रहेछन् । म यही निर्क्योलमा पुगेँ ।
प्रतिक्रिया